
साहिल शेष, नेपालगन्ज । इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद-उल फित्र ‘ईद’ आज नेपालगन्ज लगायत देशभर हर्षोल्लासका साथ मनाउँदै छन ।
मुस्लिम समुदायको पबित्र महिना रमजानको सोमबार ३० औं रोजा अन्तिम साँझ चन्द्रमा देखिएपछि मंगलबार बिहान स्थानीय ईदगाह तथा मस्जिदहरूमा सामुहिक नमाज पढि ईद पर्व मनाएका हुन ।
मुस्लिम समुदायले एक महिना लामो उपवास अर्थात रोजा बसेर रमजान पर्व मनाउँछन् । तीसौं दिनको साँझमा चन्द्रमा देखिएपछि रमजान रोजा अर्थात उपवास समाप्त भएको हो ।
गत दुई वर्षदेखि निरन्तर कोभिड-१९ महामारीको प्रकोप उच्च रहेको कारण मुस्लिमहरुले ईद पर्व खुलेर मनाउन पाएका थिएन । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । ईद पर्वलाई आपसी सदभावको चाडको रुपमा पनि हेरिन्छ ।
ईदको दिन विशेष परिकारहरु सहित भोजको आयोजन हुने गर्दछ । अधिकांश राम्रा लुगा लगाएर बालबालिका खुशीका साथ रमाउँछन । ईदका बेला खुशी साटासाट गर्न आफन्तजन र ईष्टमित्रसँग भेटेर शुभकामना आदानप्रदान गर्छन ।
यस महिनामा मुस्लिम समुदायले फितरा (जनही) एक किलो ७५० ग्राम गहुँ वा सो मुल्य बराबरको रुपैया निकाल्नु पर्छ, भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाई प्रतिशत जकात (कर) निकालनु पर्छ । उक्त फितरा, जकात गरीब, असहाय , दिनदुखी वा मदरसामा ईदको नमाज पढ्नु भन्दा अगावै दिनुपर्ने धार्मिक मान्यता रहेको छ ।
मंगलबार मुस्लिम समुदायको ईद(उल(फित्र (ईद पर्ब) को अवसरमा नेपाल सरकारले देशभर बैशाख २० गते सार्वजनिक बिदा दिएको छ ।





