
नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपाल डुडुवा गाउँपालिकाले निर्वाचन बिशेष संकल्प पत्र सार्वजनिक गरेको छ ।
यही बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा जसपाले निर्वाचन बिशेष आफ्नो उम्मेदवार बिजयी भएपछि डुडुवामा गरिने बिकास लगायतका गतिबिधिसहितको संकल्प पत्र मंगलबार सार्वजनिक गरेको हो ।
पुर्वमन्त्री मोहम्मद इस्तियाक राई, डुडवा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भण्डारीलाल यादव, उपाध्यक्ष पदका उम्मेदवार तरन्नुम बानोले संयुक्तरुपमा उक्त संकल्प पत्र सार्वजनिक गर्नुभएको हो ।
संकल्प पत्रमा संघीय लोकतान्त्रिक अभ्यास गर्ने जनताको घरदैलोको स्थानीय सरकारले संबिधानले दिएको अधिकार प्रयोग गर्दै समुन्नती, पूर्वधार बिकास, शिक्षा, स्वास्थ्य, शुसाशन, समाजिक सुरक्षा लगायतका क्षेत्रमा स्पष्ट मार्गचित्र तय गरी गाउँपालिकाबासीलाई प्राथमिकता दिएर बिकसित एवं खुशहाल डुडुवाको अवधारणा समेटिएको छ ।
भ्रष्टाचाररहित डुडुवा गाउँपालिका बनाउने अभियानको नारासहित जसपाले शिक्षातर्फ बिशेषगरी छोरी बचाउ, छोरी पढाउ कार्यक्रम अन्तर्गत एक लाख बराबरको निःशुल्क बिमा गरिदिने, स्वास्थ्यतर्फ प्रत्येक वडालाई कृषि पकेट क्षेत्र घोषणा गरी एक गाउँ एक उत्पादन अन्तर्गत आवश्यक पर्ने मल खाद्य, कृषि औजार र औषधीमा बिशेष अनुदान प्रदान गरिने, कृषि योग्य भूमिको एकिकृत सम्पत्ति करमा ५० प्रतिशत अनुदान छुट प्रदान गरिने, कृषि बिमामा साना किसानलाई ९० प्रतिशत र मझौला तथा ठुला किसानलाई ७५ प्रतिशत अनुदान दिइने प्रतिबद्धता जनाएको छ ।
यस्तै भौतिक पूर्वाधारतर्फ पालिकाभित्र रहेको मुख्य चोकहरुमा हाईमास्ट लाईटको व्यवस्थापन गरिने, २ वर्षभित्र फुसको छानो बिस्थापित ५ वर्षभित्र अति बिपन्न वर्गलाई जनताआवासको सुबिधा उपलब्ध गराइने, शौचालय बनाउन नसक्ने प्रति परिवारलाई दश हजार सहयोग दिने, त्यस्तै युवा तथा खेलकुदतर्फ पालिकाभित्र २ वटा सुबिधासम्पन्न आधुनिक रंगशाला निर्माण गरिने र एक वडा एक खेल ग्रामको व्यवस्था गरिने, सीपमुलक कार्यक्रमद्धारा प्रत्येक वर्ष एक वडा सय जनालाई रोजगार सृजना गरी ५ वर्षमा ३००० जनालाई रोजगारको व्यवस्था गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यसैगरी खानेपानी तथा सरसफाईतर्फ प्रत्येक घरधुरीमा स्वच्छ खानेपानीको व्यवस्था, प्रत्येक वडामा सफाई कर्मचारीको व्यवस्था गरिने यस्तै सांस्कृतिक तथा पर्यटनतर्फ पालिकाभित्रका ऐतिहासिक ठाउँहरुको संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने, खजुरा ५ मा रहेको खजुरा भवानी मन्दिरदेखि राँझासम्म जंगल पैदल मागको निर्माण गरी दुरिजम ट्रयाक रुपमा निर्माण गर्ने, पालिकाका मुख्य चोकहरुमा सिसिटिभि क्यामरा जडान गरिने, राप्ती नटिमा बोटिङ्गका साथै डुडुवा २ स्थित झोरा जंगलमा आधुनिक पिकनिक पार्कको निर्माण गर्ने संकल्प लिएको छ ।
यस्तै पालिकाका सुकुम्बासी, मुक्तकमैया, भूमिहिन ऐलानी जंगलात अव्यवस्थित बासोबासलाई चुनाव जितेको ३ महिनाभित्र राष्ट्रिय भूमि आयोगसंग समन्वय गरी लालपुर्जा बितरणको प्रक्रिया बढाउने कार्य संकल्प पत्रमा समाबेश गरेको छ ।





