चौधरीको प्रष्टोक्ती, धार्मिक स्थलको बजेटबाट कमिसन खान खोज्दा रोकिदिएको हुँ, जनतामा भ्रम फैलाईयो’

डुडुवा । डुडुवा गाउँपालिकाले गरेका काम देखेर अत्तालिएका बिरोधीले जनतामा अनेक भ्रम सिर्जना गरिरहेकाले सचेत रहन नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार नरेन्द्र चौधरीले अनुरोध गर्नुभएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा मंगलबार (आज) आयोजित वृहत्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भन्नुभयो, ‘कांग्रेसले गरेका काम देखेर प्रतिस्पर्धीहरु आत्तिएका छन्, मनगडन्ते कुरा गरेर जनतालाई दिग्भ्रमित पार्ने दुस्साहस भएको छ, तर मलाई थाहा छ, डुडुवाका जनताले सबै कुरा राम्रोसँग बुझेका छन् ।’

‘कांग्रेस नेतृत्वको स्थानीय सरकारले गरेको विकास र कामबाट आत्तिएकाहरुले डुडुवाका मतदाताहरुलाई दिग्भ्रमित पारिरहेका छन्’ चौधरीले भन्नुभयो, ‘म खबरदारी गर्छु, ती जनविरोधीहरु तत्वलाई, डुडुवामा तिमीहरुको स्वार्थ पुरा हुने छैन, तिमीहरुले यसको मूल्य चुकाउनुपर्नेछ ।’

चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘तपाईहरुले जनताको सेवकलाई चुन्ने की नचुन्ने रु विकसित र समृद्ध डुडुवा निर्माणमा कम्मर कस्ने की नकस्ने ?’ तपाईंहरुले फेरिपनि आफ्नो अन्तर आत्मालाई सोधेर विवेक प्रयोग गर्नुहोस्, आफ्ना वास्तविक सेवकलाई चिनेर मतदान गर्नुहोस् ।’

‘मतदाता नै भगवान हुन, हामी (उम्मेदवार) भनेको भगवानको सेवक हो । सेवकलाई चुन्नु भयो भने तपाईका काम हुन्छन, तपाईका समस्या समाधान हुन्छन्, मालिक चुन्ने वा सेवक तपाईको हातमा छ ।’

चौधरीले अगाडी थप्नुभयो, ‘मौन अवधिमा हामीले आफ्नो घर, टोल, छिमेकमा निगरानी गर्नुपर्नेछ । रक्सी, मासु र केही रुपैयाँमा तपाईको भोट किन्न आउनेछन्, उनीहरु ।

के तपाईले आफ्नो भोट बेच्नुहुन्छ ? कांग्रेसलाई देखेर हतोत्साहित बनेकाहरु तपाईको घर–घरमा यस्तै प्रलोभन लिएर आउनेछन् । त्यहीबेला तपाईले सचेत मतदाताको भूमिका निर्वाह गर्नुहोस् ।’

‘जनता नै सर्वोपरी भएकाले कसैको दवाव, प्रभाव र लोभमा नपरी आफ्ना सेवकलाई चुन्नुहोस्, सेवक चुन्नु भएन भने पाँच वर्ष पछुताउनु हुनेछ ।’ चौधरीले भन्नुभयो, ‘निर्वाचन कार्यालय, प्रहरी प्रशासनलाई आग्रह गर्दछु आचारसंहिताविरुद्ध जानेहरुलाई निगरानी गरियोस्, कारबाही गरियोस् ।’

डुडुवाका जनतालाई प्रभावमा पार्न क्षेत्र नम्बर २ का सांसद एवमु पुर्वमन्त्री मोहम्मद ईस्तियाक राईले विधि, विधान र कानुन विपरितका काम गर्न खोजेको चौधरीले बताउनुभयो ।राईले डुडुवामा केही योजना लिएर आएको र पछि ती योजनालाई टुक्रा–टुक्रा पारेर आफैले भागबण्डा अनुसार काम गर्न खोजेपछि रोक्दा आफुलाई विकास विरोधी भनेर अर्नगल गरेको प्रष्ट्याउनुभयो ।

‘मस्जिद, मन्दिर, कर्वलाका नाममा बजेट बाँडेर कमिसन खान खोज्दा मैले त्यसलाई रोकिदिएको हुँ, त्यसपछि बजेट पठाउने र उनका आसेपासे छटपटीमा परे,’ सभामा चौधरीले प्रमाण देखाउँदै भन्नुभयो, ‘म सँग सबुत प्रमाण छ, यी हेर्नुहोस्, विधि र विधान विपरितको योजना म कसरी कार्यान्वयन गर्नसक्छु, मैले उनीहरुलाई कानुन विपरितका गलत काम गर्न नदिएकै हुँ, तर उनीहरु गलत प्रचार गरे ।’

डुडुवामा आफ्ना विरुद्ध फैलाइएको भ्रमको पछाडी नलाग्न आग्रह गर्दै चौधरीले भन्नुभयो ‘डुडुवाका जनतालाई भ्रममा राखेर आफ्नो निहित स्वार्थ पूरा गर्ने समूह अस्वस्थ ढंगले प्रस्तुत भएको छ, त्यस्ता पात्र र प्रवृत्तिलाई बेलैमा पहिचान गरि जोगिनुहोस् ।’

आफुले सुकुम्वासी, भुमिहिनलाई सधैं सम्मान गर्ने गरेपनि त्यस विषयमा पनि जनतामा भ्रमित पार्ने काम गरेको उहाँको भनाई छ ।

‘हामीले सुकुम्वासी र भुमिहिनका लागि दिर्घकालिन रुपले समस्या समाधान गर्ने योजना बनाईसकेका छौं, यो निर्वाचनपछि गाउँपालिकाले सुकुम्वासी र भुमिहिनका कामहरु अगाडी बढाउनेछ,’ चौधरीले भन्नुभयो ‘सुकुम्वासीको पक्षमा काम गर्न खोज्ने ब्यक्तिलाई ती स्वार्थी समुहले भ्रमित बनाए, त्यस्तो भ्रममा कोही पनि नपर्नुहोला ।’

पाँच वर्षको अवधिमा डुडुवामा धेरै कामहरु आफुले गरेको कुरा जनताले छर्लङ्ग देखेको चौधरीले बताए । आफुले पाँच वर्ष नेतृत्व गरेको डुडुवा गाउँपालिकालाई सुशासन, पारदर्शिता रुपले सञ्चालन गरेको प्रष्ट्याउनुभयो ।

विकासमा काम गर्दा गर्दै पाँच वर्ष वितेको र अझै केही नयाँ योजनाहरु पाईप लाईनमा रहेकाले यसपटक पुनः मतदान गरी जनताको सेवा गर्ने अवसर प्रदान गर्न अपिल गर्नुभयो । डुडुवाका जनताले फेरि पनि कांग्रेसलाई चाहेकाले पाँच वर्षको अनुभव बोकेर आफूहरु चुनावमा होमिएको उहाँले बताउनुभयो ।

Previous articleतारा एयरले नेपालगञ्जमा यात्रु छुटाएपछि !
Next articleप्रशान्त बिष्टसहित कांग्रेसका उम्मेदवारलाई लोसपाको समर्थन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here