
नेपालगञ्ज । नेपाल प्रहरीको एकपछि अर्को कर्तुत सार्वजनिक भइरहेको छ । यस्तै प्रहरीको अर्को गलत कार्यको सबैतिर चर्चा शुरु भएको छ ।
नेपालगञ्जका सुन्दर हरिजनको मृत्यु घट्नाको सबैतिर चर्चा शुरु भएको हो । प्रहरीको गलत कार्यकै कारण हरिजनको मृत्यु भएको आरोप प्रहरीलाई लागेको छ ।
कारागारमा मृत्य भेटिएका नेपालगञ्जका हरिजन परिवारले घटनाको छानवीनको माग गरेका छन् । नेपालगञ्ज कारागारबाट रोल्पा कारागार पुर्याईएका उनको मृत्यु भएको छ । नेपालगञ्ज वडा नम्बर २ स्थित दैलेखी बंगालाका सुन्दरको रोल्पा कारागारमा केहीदिन अघि ‘शंकास्पद’ मृत्यु भएको भेटिएको हो ।
कारागारको रेकर्डमा भने उनको नाम विजय विक्रम शाह देखियो । कर्मचारीले मृत्युबारे खबर गरेपछि परिवारका सदस्यहरु अलमलमा परेका थिए ।
रोल्पा पुगेर परिवारले शवको पहिचान गरेपछि मात्र मृतक ब्यक्ति सुन्दर नै भएको पुष्टी भएको छ । विजय विक्रमको नाममा परिवारले सुन्दरको शव बुझेर नेपालगन्ज ल्याएका छन् । मृतकको शव अहिले नेपालगञ्जमा छ, तर परिवारले दाहसंस्कार गर्न मानेका छैनन् ।
न्यायको माग गर्दै हरिजन परिवारले नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् ।
परिवारले कारागारभित्र सुन्दरको सट्टा विजय विक्रम कसरी लेखियो भनेर चासो राखेपछि घटना रहस्यमय बनेको छ । चोरी र ‘नकदजनी’ चोरी मुद्दामा सुन्दरले जेल सजाय पाएका थिए । कारागारमा सजाय काट्न बाँकी रहेका विजय विक्रम सुन्दरको नाममा छुटेका छन् ।
विजय विक्रमको नाममा सजाय काटिरहेका सुन्दर पाँच दिनअघि रोल्पा कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको हो ।
मृतकका परिवारले कर्मचारीको मिलेमतोमा सुन्दरलाई अर्काको नाममा जेलमा राख्ने काम गरेको र मृत्यु हुनुमा पनि कसैको संलग्नता रहेको आरोप लगाएका छन् ।
मृतकका दाई राजकुमारले भाईको मृत्यु भएको र कारागारका कर्मचारीले विजय विक्रमलाई कागजी रुपले जवरजस्ती आफ्नो भाई बनाउन खोजेको बताउनुभयो ।
यस्तै मृतकको परिवारले सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरेर घट्नाबारे जानकारी गराउँदै प्रहरीकै मिलोमतोमा आफ्नो भाईको मृत्यु भएको राजकुमारले बताउनुभयो ।
कारागार ब्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईको संयोजकत्व छानविन समिति बनाइसकेको छ । छानविनका लागि संयोजक चापागाई नेपालगन्ज आइपुग्नुभएको छ ।





