
नेपालगञ्ज । बाँकेमा रगतको अभाव देखिएको छ । अस्पताल आउने बिरामीलाई सहजरुपमा रगत उपलब्ध गराउन नसकेको रक्तसंचार केन्द्रले जनाएको छ ।
पछिल्लो समय रक्तदाताहरुको कमीका कारण बाँकेमा रगत अभाव देखिएको हो । रगत दिने रक्तदाताहरुको कमी देखिएको छ, भेरी अस्पताल नेपालगञ्जमा परिसरमा रहेको रक्तसंचार सेवा केन्द्रकी प्रशासन प्रमुख सरिता सिंहले भन्नुभयो, रगतका लागि बिरामीहरु आउँछन् बाध्यताबस आफ्ना चिनेजानेको व्यक्तिलाई बोलाउनुस भनेर भन्नु परेको छ ।
नेपालगञ्जमा मात्रै दैनिक ५० पिन्ट रगत खपत हुने गरेको सेवा केन्द्रको तथ्याँक छ । तर रगत दान गर्नेहरुको संख्या हेर्दा एकदमै कम देखिन्छ । हामीले चाहेर पनि सेवा केन्द्र आउने बिरामीलाई सहज रुपमा रगत उपलब्ध गराउन सकेका छैनौं, प्रशासन प्रमुख सिंहले भन्नुभयो ।
संस्थागत रक्तदानमा कामी आएका कारण यस्तो अवस्था आएको सेवा केन्द्रको भनाई छ । नेपालगञ्जमा बैशाखदेखि संस्थागत रक्तदान कार्यक्रम भएको छैन् । जसका कारण सेवा केन्द्रमा रगत स्टोर गर्न सकिएको छैन । एक दिन अघि मात्र दुई वटा संस्थाले रक्तदान गरेका छन् ।
एउटै बिरामीलाई दैनिक दश पिन्ट जति रगत लिन आउने गरेका छन्, सिंहले भन्नुभयो, सेवा केन्द्रमा रगत नै नभएपछि बिरामीका आफ्न्तलाई नै आफ्ना मान्छेलाई रक्तदानका लागि बोलाउनुस भन्ने गरेका छौं ।
कतिपय बिरामीका आफन्त आउनुहुन्छ र रक्तदान गरेर जानुहुन्छ, तर धेरैजसो आफन्त र चिनेजानेका कोही हुँदैन, ति बिरामीलाई भने आपत पर्छ, सिंहले थप्नुभयो, त्यस्तो अवस्थामा नेपालगञ्जका युवाहरुलाई गुहार्ने गछौं । ति युवाहरुले राती १ बजे भएपनि सहयोग गर्न आउने गर्छन ।
सबैभन्दा बढि डेलिभरी, डायलाईसिस र सिकलसेलका बिरामीलाई बढि रगत आवश्यक परेको देखिन्छ । एक हजार पिन्ट रगत जम्मा गर्न सक्ने क्षमताको सेवा केन्द्र भएपनि रगतको व्यवस्था हुन नसक्दा स्टोर जम्मा गर्न पनि नसकेको सेवा केन्द्रले जनाएको छ ।
प्रशासन प्रमुख सिंहले रक्तदान गर्न आम सर्वसाधारणलाई अनुरोध गर्र्नुभयो । पश्चिम नेपालको स्वास्थ्य हबका रुपमा रहेको नेपालगञ्ज सेवा केन्द्रमा नेपालगञ्ज मेडिकल कलेज, भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, गुलरिया अस्पताल र राजापुर समेतका बिरामी रगतका लागि पुग्ने गरेका छन् ।





