
नेपालगञ्ज । नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर परिसरको सरसफाई गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर नेपालगञ्जस्थित द होपको नेतृत्वमा आइतबार मन्दिर परिसरको सरसफाई गरिएको हो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत लगायतले झाडु लिएर मन्दिर परिसरको सरसफाईमा सहभागि हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले सरसफाईले सभ्यता झल्किने भएकाले नेपालगञ्जका जनताले आआफ्नो घर वरापर सफा सुग्घर राख्नुपर्ने बताउनुभयो । यसका साथै उहाँले धार्मिक क्षेत्रमा समेत सरसफाई कार्यलाई बिशेष महत्व दिनुपर्ने बताउनुभएको थियो ।
द होपका संयोजक चन्दन दासले सामाजिक कार्यमा सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो । सरसफाई कार्यक्रममा कर्मचारी, सर्वसाधारण, सरसफाईकर्मी, युवा गरी करिब दुई सय जना सहभागि भएका थिए ।







