
महिनावारी भन्ने बित्तिकै कतिपयको सोंच नकारात्मकता तिर जान्छ । यस्तो सोंच बनाउँछन् कि मानौ यो जानी जानी गरिएको कुनै अपराध हो ।
अहिलेको परिस्थिति महिनावारी बारे अनेकौं विचार सृजना गरि नारीहरुलाई उनीहरु कमजोर रहेको भनी बोध गराउने प्रयास भइरहेको हुन्छ ।
जबकी महिनावारी कुनै अपराध होइन, यो प्राकृतिक रूपमा हुने एउटा प्रक्रिया हो । पहिला हामीले बुझ्नु पर्ने कुरो हो कि महिनावारी हो के ? यो किन हुन्छ ? यो अवधीमा नारीहरुले कस्ता समस्याहरुको सामना गर्नुपरेको हुन्छ ?
पहिलो कुरा यो महिनावारी कुनै अभिशाप होइन । यो युवती भएको उमेरदेखि केही उमेरको हदसम्म (१२-५० वर्ष) नारीहरुको गोप्य अङ्गबाट महिनामा एक पटक शरीरबाट दुषित रगत बग्ने प्रक्रिया हो ।
यो रगत बग्नुमा नारीहरुको कुनै अख्तियार हुँदैन । उनीहरुले जानी जानी यसलाई बगाउन सक्दैनन् । न त यसलाई रोक्न नै सक्छन् । यो प्रक्रिया प्राकृतिक रुपमा हुने गर्छ । यो त्यो प्रक्रिया हो जसबाट नारीहरुको शरीरमा सन्तानको विकास हुने गर्छ ।
यदि यो रगत अर्थात महिनावारी भएन भने सन्तान जन्माउन सकिँदैन । धेरै पहिलेको कुरो हो जब शैक्षिक विकास भएको थिएन । मानव जातीले उच्चस्तरीय जीवन बिताउन नयाँ नयाँ सिद्धान्त र कानूनको खोजिमा थिए ।
त्यो बखत नारीहरुको शरीरबाट मासिक रूपमा रगत बग्ने प्रक्रियालाई मनहुसियतको रूपमा देखियो । कतिपय समुदायमा यसलाई नारीहरुको अख्तियारमा रहेको भन्ने धारणा राखेर अनेकौं अधिकारबाट वञ्चित समेत गरियो ।
केहि समुदायले महिनावारीको समयमा नारीहरुलाई एउटा कोठामा कैद गरेर राख्ने कानून बनाए, भने कतिपयले महिनावारीको समयमा संभोग गर्नु उत्तम कार्य भएको मान्यता बनाए ।
त्यो समय यस्तो थियो कि जब कुनै पुरुष आफ्नो घरबाट टाढा हुन्थ्यो र उसले खबर प्राप्त गर्थ्यो कि श्रीमतीलाई महिनावारी भएको छ, भने उ कामकाज छोडेर घर फर्किन्थ्यो र संभोग गर्थ्यो ।
तपाईले महिनावारीको विषयमा विश्व समुदायको अवस्था बुझ्न किताब उठाउनु हुन्छ भने तपाईंले पाउनु हुन्छ कि धेरै जस्तो क्षेत्रमा महिनावारीको अवधीमा खानपिन, बस्न उठ्न, मेलमिलाप, पहिरन लगायतको सबै कुरामा प्रतिबन्ध लगाई केही विशेष चलन र प्रथाहरु उत्पत्ति भयो । नारीहरुलाई एक्लो बनाउने प्रयास गरियो ।
१४ सय वर्ष अगाडी जब पैगम्बर ए ईस्लामले दीन ए ईस्लाम ल्याउनु भयो । त्यति बेला यस्तो प्रथाहरु धेरै थिए ।चेलीछोरीहरुलाई बाल्यकाल मै घाँटी थिचेर मार्ने, श्रीमानको मृत्यु भयो भने श्रीमतीलाई कालकोठरीमा राख्ने त्यहाँबाट पनि बाँच्यो भने खच्चरमाथि बसाएर मनहुस भएको बोध गराउने अनि हत्या गर्ने वा सती बनाउने, एक पटक विधवा भएको नारीले आर्को विवाह गर्न नपाउने जस्ता अनेकौं प्रथा कुप्रथाहरु थिए ।
जसमध्ये एउटा यो पनि थियो कि नारीहरुलाई महिनावारी भएको समयमा समाजबाट टाढा राख्ने, खानपिन, रहनसहन सब आलग गरिदिने । यस्ता प्रथाहरुको अन्त्य गर्न दीन ए ईस्लामको अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले नारीहरुलाई सम्मान दिँदै कानून दिनुभयो कि महिनावारी कुनै मन्हुसियत होइन ।
यो प्राकृतिक रूपमा हुने प्रक्रिया हो । त्यसैले महिनावारीको अवधीमा संभोग गर्नु हुँदैन । बाँकी उनीहरुलाई अन्य दिन जस्तै जीवन यापन गर्न दिनुपर्छ । नारीसंगको मेलजोल खानपिन उठ्न बस्न, रहनसहन मेलजोल सब गर्नुपर्छ ।
संभोगलाई प्रतिबन्ध लगाउनु कारण यो हो कि त्यो समयमा दुषित रगत बगेको हुन्छ जसले गर्दा अनेकौं रोग लाग्ने सम्भावना तिव्र हुन्छ । त्यसैले संभोग बाहेक उनीहरुको साथमा सबै व्यबहार आमदिन जस्तै गर्नुपर्छ ।
साथै यो नारीको अस्मितासंग सम्बन्धित भएकोले हामीले नारीहरुको कोठा अलग गर्नु, एक्लो बनाउनु, मानसिक रूपमा कमजोर बोध गराउनु हुँदैन । यसो गर्दा समाजमा उनीहरुको गोप्यनियता भङ्ग हुन्छ ।
मानसिक रूपमा तनावग्रस्त हुन्छन् । त्यसैले यो विषयलाई गोप्य राख्नु पर्छ । त्यस्तै दीन ए ईस्लामको पवित्र किताब कुरआन शरीफमा पनि अल्लाह करीमले यसलाई बिस्तृतमा बयान गर्नु भएको छ ।
आर्को कुरा हामी पुरुष भएको नाताले पनि नारीहरुको पिडालाई बुझ्नुपर्छ । कल्पना गर्नुस कि तपाईलाई कुनै रोग लगेको छ र तपाईमाथि अनेकौं प्रतिबन्ध लगाइएको छ । सूर्यको किरणबाट टाढा बस्न निर्देशन गरिएको छ, तपाईंको खाने थाली अलग गरिएको छ ।
तपाईको बस्ने कोठा अलग गरिएको छ, समाजमा उठ्न बस्न मेलजोल राख्न प्रतिबन्ध लगाइएको छ । यो अवस्थामा तपाईंले शारीरिक मानसिक दुबै किसिको पिडा महसुस गर्नुहुन्छ । त्यो समयमा कुनै ब्यक्तिले तपाईको मानसिक र शारीरिक अङ्गमा हस्तक्षेप गर्छ भने कति दुख लाग्छ ।
हो, त्यस्तै नारीहरुलाई पनि पीडा महसुस भएको हुन्छ । उनीहरु शारीरिक मानसिक दुबै किसिमको पिडा महसुस गरिरहेको हुन्छन् । त्यस कारण हामीले उनीहरुको आदर गर्न सक्नु पर्छ । उनीहरुको हौसला बढाउन सक्नुपर्छ ।
यसको साथ साथै मैले सम्पूर्ण नारी वर्गमा पनि अपील गर्न चाहन्छु कि तपाईंहरुले आफूलाई कमजोर महसुस गर्नु भएन । अल्लाह (इश्वर)ले तपाईभित्र त्यो सहनशीलता र त्यो तागत देखेर नै तपाईलाई यो प्रक्रियाबाट गुजारेको हो ।
यदि तपाईबाट यस्तो प्रक्रिया नभएको भए संसार अगाडी बढ्ने छैन । तपाईको यही महिनावारीको प्रक्रियाले संसारलाई अगाडी बढाउन मद्दत पुगेको छ । सो आफूलाई कम्जोर ठान्नुभन्दा पनि तपाईहरुले आफूमाथि गर्व गर्नुपर्छ ।
तपाईले जब धार्मिक पुस्तकहरुको पाठ गर्नु हुन्छ, तपाईंले पाउनु हुन्छ कि इज्जत नारीको गहना हो र त्यही पुस्तकहरुमा नारीले आफ्नो गोप्य अङ्ग छोपेर राख्न निर्देशन समेत दिइएको छ । जस कारण तपाईहरुले आफ्नो अस्मिताको रक्षा गर्न यस्तो विषयलाई गोप्य राख्नेतिर केन्द्रित हुन जरुरी छ ।





