
कमल पन्थी, बर्दिया । प्रहरीले धर्म र गंगा बस्ती इलाकामा बेबारिसे अवस्थामा रहेका सालका गोलिया काठ शनिबार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलले मधुवन नगरपालिका–९ धर्म र गंगा बस्ती इलाकाबाट झन्डै १ सय ५० क्युफिट काठ बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक टीकाराम मैनालीका अनुसार लुकाई राखेको अवस्थामा फेला परेको काठ भारतबाट भित्रिएको आशंका छ ।
गुलरिया–१० मा भारतबाट ल्याई लुकाएको आशंकामा प्रहरीले शुक्रबार पनि सागुन जातका २५ क्युफिट काठ बरामद गरेको थियो । ती काठ स्थानीय सःमिलमा लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो ।
सीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी चुनावमा खटिएपछि भारतबाट ठूलो परिमाणको अवैध काठ भित्रिएको आशंका वनका कर्मचारीको छ ।
ती काठलाई वैधता दिन तस्कर लागिपरेका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले अवैध काठलाई वैधता दिन नमिल्ने बताउनुभयो । उहाँले फेला परेको काठ जफत गरेर कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको बताउनुभयो ।
काठ तस्करी बढेपछि प्रहरीले नियमित गस्ती गर्न थालेको छ । सीमा क्षेत्रमा रहेका सःमिल र काठ तस्करले रातको मौका छोपेर काठ भित्र्याउने गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सःमिल सञ्चालकका अनुसार भारतीय वनका कर्मचारीसँग मिलेर काठ भित्र्याउने गरिन्छ । भारत बहराइच जिल्ला अन्तर्गत कतरनिया वन्यजन्तु आरक्षणसँग नेपाली सीमा जोडिएको छ ।
वन रक्षाका लागि खटिएका मुन्सीबाटै रूख काट्न लगाउने र त्यसबापत उनले मोटो रकम लिने गरेको स्रोतको भनाइ छ ।
‘रूख राति काटिन्छ । सीमामा तैनाथ एसएसबीको राति वनगस्ती नगरेको मौका छोपी मुन्सीले सहयोग गर्छन्,’ एक सःमिल सञ्चालकले भने, ‘उनीहरूकै सहयोगमा नेपाल भित्रिन्छ ।’ रूख काटेपछि जरासमेत उखेलेर माटोले पुर्ने गरेको समेत उनले बताए । इकान्तिपुरबाट





