सर्वदलीय बैठक : सहमतिबाट मात्रै शालिक स्थापना गर्न दलहरू सहमत

नेपालगञ्ज । नेपालगञ्जमा सहमतिबाट मात्रै राजा वीरेन्द्रको शालिक स्थापना गर्न दलहरू सहमत भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आव्हानमा बिहिवार दिउँसाे भएको सर्वदलीय बैठकले सबैको सहमतिमा मात्र सालिक राख्ने निर्णय भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दलहरूको उपस्थितिमा भएको बैठकले सामाजिक सद्‌भावमा खलल नआउने गरि नेपालगञ्ज उपमहानगरमा बसि निर्णय गरेर मात्रै पूर्व राजाको शालिक स्थापना गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा बसेर निर्णय गर्ने र कसैले पनि आफू खुसी यस्ता कामहरू नगर्ने कुरामा दलहरूबीच सहमति भएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिनुभयो ।

दरबार हत्याकाण्ड भएको २१ वर्षपछि जेठ १९ गतेको अवसर पारेर राप्रपाका कार्यकर्ताले बिहीबार बिहान साढे ८ बजेतिर नेपालगञ्जको वीरेन्द्र चोकमा राजा वीरेन्द्रको सालिक स्थापना गरेका थिए ।

राप्रपाले कसैलाई नसोधी, सरसल्लाहसमेत नगरी वा नगरबाट निर्णय नै नगराई एकाएक राजा वीरेन्द्रको सालिक स्थापना गरेको भन्दै त्यसको विरोध भएको थियो । त्यसपछि प्रहरी प्रशासनले सालिक केही बेरमै हटाएको थियो ।

प्रहरीले सालिक हटाएपछि आक्रोशित राप्रपाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए । उनीहरूले नजिकै रहेको सहिद सेतु विकको सालिकमासमेत तोडफोड गरेका थिए ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हान्नुका साथै चार राउन्ड हवाइ फायरसमेत गरेको थियो । राप्रपाका कार्यकर्ताको ढुंगा प्रहारबाट नौ जना प्रहरी सामान्य घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै उग्रता पर्दशन गर्ने र सालिक तोडफोडमा संलग्न रहेको भन्दै चार जनालाई प्रहरीले नियन्त्रणमा लिइएको डिएसपी न्यौंपानेले बताउनुभयो । सेतोपाटी

Previous articleसेतु विकको शालिक तोडफोड गणतन्त्रमाथिको प्रहार : नेकपा एमाले
Next articleपेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here