दुई महिनादेखि बन्धक बनाएर सामुहिक बलात्कार

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयाे ।

घलानले राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घर (कटेरो) मा राखेर २७ वर्षीया युवतीलाई दुई महिनादेखि बन्धक बनाएको प्रहरीले बताएको छ ।

काठमाडौं बसेर ज्याला मजदुरी गर्दै आइरहेकी पीडित युवती १० चैतमा भाउजुको घर पिप्ले आएकी थिइन् । बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्‍याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगेका थिए ।

सोही दिन राती घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजुले दिएको जाहेरीमा उल्लेख छ ।

बन्धक बनाइएकी युवतीको स्वास्थ्यमा समस्या देखिएपछि घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्‍याएका थिए ।

उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको उनकी भाउजुले बताएकी छन् ।

महिलाले जेठ २४ गते घलानविरुद्ध किटानी जाहेरी दिएपछि जवरजस्ती करणीको मुद्दा दर्ता गरी घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleशिक्षक महासंघ नेपालगञ्जद्धारा छ बुँदे ध्यानाकर्षण पत्र पेश
Next articleगर्मी बढेका कारण नेपालगन्जका बिद्यालयमा पाँच दिन बिदा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here