सिफारिस नदिएपछि नेपालगन्ज १८ वडा कार्यालयमा तनाव, पत्रकारमाथि हातपात

नेपालगन्ज । पक्षपात गरेर वडाअध्यक्षले सिफारिस नदिएको भन्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का आक्रोशित स्थानीय बासिन्दाले बिहीबार वडा कार्यालय घेराउ गरेका छन् ।

नेपालगन्ज १८ लग्दहवा निवासी ४५ वर्षीया रामप्यारी वर्मा विगत ७ महिनादेखी मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा पुगेपनि वडाअध्यक्ष दीपककुमार बर्माले सिफारिस नदिएको आरोप छ ।

रामप्यारीकी आमा ८० वर्षीया सिउरी कुर्मीको करिव ७ महिनाअघि कालगतिले मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा जादाँ वडाअध्यक्ष बर्माले विभिन्न बहाना बनाउँदै सिफारिस रोकेको रामप्यारी बताउनुभयो ।

‘धेरै पटक सिफारिस माग्न वडा कार्यालयमा आएँ, तर वडाअध्यक्षले जहिले पनि मलाई सिफारिस नदिएर फर्काउने काम गरेँ, मैले हात जोडेर विन्ती गर्दा उल्टै प्रहरी बोलाएर थुनाउँछु भनेर धाक धम्की दिएँ,’ रामप्यारीले वडा कार्यालय परिसरमा सञ्चारकर्मीसँग बिहीबार भन्नुभयो ।

मृत्यु दर्ता नाता प्रमाणित नहुँदा आमाको जग्गा नामसारी हुन नसकेको उहाँले बताउनुभयो । मृतक सिउरीका दुई छोरी मात्र छन । रामप्यारी र मिरा सहोदर दुई बहिनी हुन ।

आमाको मृत्यु पश्चात कानुनी रुपमा स्वतः अंश पाउने अधिकार भएपनि वडा कार्यालयको सिफारिस नपाउँदा सबै काम रोकिएको उहाँको गुनासो छ ।

रामप्यारी र मिराले लामो समयदेखी सिफारिस नपाएपछि उहाँको न्यायका लागि बिहीबार वडा नम्बर १८ का केही अगुवा तथा स्थानीय बासिन्दा पुगेका थिए ।

वडाअध्यक्ष बर्माको कार्यकक्षमा सामान्य रुपले छलफल भइरहेका बेला एक्कासी विवाद बढेपछि केहीबेर तनाव उत्पन्न भयो । त्यसक्रममा पत्रकार र महिलामाथी दुव्र्यहार समेत भएको प्रत्यक्षदर्शीले बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सदस्य कृष्णा सापकोटाले सिफारिस नपाएका दुई दिदी बहिनीको न्यायका लागि आफुहरु वडा कार्यालयमा पुग्दा वडाअध्यक्षले उल्टै प्रहरी बोलाएको बताउनुभयो ।

‘दुई दिदी बहिनी छन, उनीहरुका दाई भाई छैनन्, बुवाको सम्पत्ती हस्तान्तरणका लागि सिफारिस माग्न वडा कार्यालयमा पटक पटक पुग्दा नपाएपछि पीडितले नेपाली कांग्रेससँग सम्पर्क राख्नु भयो, त्यसपछि हामी उहाँको सिफारिसका विषयमा बुझ्दै थियौं, एक्कासी वडाअध्यक्षले प्रहरी र आफ्ना मान्छे बोलाएर दादागिरी देखाउनु भयो ।’

वडाअध्यक्ष वर्माले भने सिफारिस रोक्ने कुनै नियत नभएको जिकिर गर्नुभयो । आफ्नो पहिलो कार्यकाल छदैं नाता प्रमाणितका लागि सिफारिस माग्न आएपनि दुबैको नाममा बराबर सम्पत्ती जाओस् भनेर सिफारिस रोकेको बताउनुभयो ।

‘सिफारिस दिदाँखेरी एउटाले बढी पाउने र अर्कोले कम पाउने हुन्छ कि, यहाँबाट हामीले सिफारिस गर्दा मालपोतमा अप्ठ्यारो नहोस् भनेर रोकिएको हो,’ उहाँले भन्नुभयो ‘सिफारिस रोक्नुपर्ने कुनै कारण छैन, सिफारिस त दिने हो, नदिने कुरै छैन ।’

नेपालगन्ज १८ स्थित वडा कार्यालयमा समाचार संकलन गर्न पुगेका पत्रकार सलामत अलि शेखमाथी हातपात एवम दुव्र्यहार भएको हो ।

वडाअध्यक्ष बर्माको कार्यकक्षमै पीडित पक्षसँग छलफल भइरहेका बेला एक्कासी विवाद उत्पन्न भएको थियो । सो विवादले उग्ररुप लिएपछि स्थिती तनावपुर्ण बन्यो ।

सो क्रममा उपस्थित भएका नेपालगन्जस्थित प्रभात घोषणा राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार शेखले भिडियो खिच्न लाग्दा वडाअध्यक्ष बर्मा एक्कासी उठेर हातपात एवम दुव्र्यहार गरेको पीडितले बताउनुभयो ।

‘वडाअध्यक्षको कार्यकक्षभित्र विवाद बढेपछि मैले मोबाईल निकालेर भिडियो खिच्दै थिए, वडाअध्यक्ष दीपक बर्मा एक्कासी आएर मेरो घाँटी समाते र मोबाईल खोस्ने प्रयास गरे, तर मैले मोबाईल दिएन,’ पत्रकार शेखले भन्नुभयो ‘त्यसपछि वडाअध्यक्षकै निर्देशनमा त्यहाँ रहेका प्रहरीले मलाई घिर्सादै बाहिर गेटसम्म पुर्याएँ, त्यहाँ रहेका स्थानीय बासिन्दाले छुटाए ।’

पत्रकारको परिचय दिदाँ दिदै पनि प्रहरीले आफुमाथी अमानविय ब्यवहार गरेको उहाँको गुनासो छ । यस्तै सुरक्षार्थ खटिएका प्रहरीले वडा कार्यालयमा पुगेकी निरुता गैरेमाथि दुव्र्यहार गरेका छन ।

आफुलाई एक जना पुरुष प्रहरीले सम्वेदनशिल अंग (छाती) समातेर दुव्र्यवहार गरेको उहाँले सुनाउनुभयो । यसअघि अघिल्लो कार्यकालमा पनि पत्रकारमाथी दुव्र्यवहार गरेका वडाअध्यक्ष बर्माले पत्रकार महासंघको कार्यालयमै पुगेर माफी माग्नुभएको थियो ।

Previous articleशैक्षिक गुणस्तर अभिवृद्धिसहित २७ बुँदे मागपत्र पेश
Next articleफेरि बढ्यो इन्धनको मूल्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here