
नेपालगञ्ज । जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित हुनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित हुनुभएको हो । चौधरीले १३ मत र कुर्मीले ३ मत पाउनुभएको थियो ।
महिला सदस्यमा जसपाबाट नेपालगञ्ज ५ की तरुन्नुम बानो शेष, माओवादी केन्द्रबाट नेपालगञ्ज ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित हुनुभयो ।
सत्ता गठबन्धन दलहरुबीच भएको भागबण्डालाई अस्विकार गरेको जसपाले प्रमुख र महिला सदस्यमा छुट्टै उम्मेदवारी हालेको थियो ।
आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि गठबन्धनकारी दलहरुलाई समेट्दै कांग्रेसले आफूले प्रमुख र उपप्रमुखसहित ३ जना खुला र एक दलित र अल्पसंख्यक सदस्य राखेर जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई १।१ जना महिला सदस्य दिएको थियो ।
उपप्रमुख, दलित। अल्पसंख्यक र खुला सदस्य भने यसअघि नै निर्विरोध भइसकेका थिए । कोहलपुर ५ बाट वडा सदस्यमा निर्वाचित हुनुभएकी नेपाली कांग्रेसकी सीता कार्की उपप्रमुखमा निर्विरोध भइसक्नुभएको छ ।
यस्तै दलितरअल्पसंख्यक सदस्यमा पनि निर्विरोध भएको थियो । नेपालगञ्ज २ का जगदिश बाल्मिकी निर्विरोध हुनुभएको थियो । खुला सदस्य पनि तीन जना नै निर्विरोध भएका थिए ।
नेपालगञ्ज ५ का उदय नारायण मिश्र, जानकी ५ का जुल्फेकार अली मनिहार र कोहलपुर १५ का सन्त कुमार थारु निर्विरोध निर्वाचित हुनुभएको हो । तीन जना नै कांग्रेसका हुन् । बाँकेमा कांग्रेसका १२, जसपाका ३ र माओवादीका १ जना मतदाता हुन् ।
चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख हुनुहुन्थ्यो । उहाँ डुडुवा १ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।





