राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्ती सोनारी । राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख रुपैयाँ सम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०७८/७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको उहाँले बताउनुभयो । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेट बाँडफाट गरेको डाँगीले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको छ ।

वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । ‘वडाको जनसंख्या, भुगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रुपमा बजेट विनियोजन गरेका छौं,’ उहाँले भन्नुभयो ।

स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम (आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास र सुशासन) पाँच वटा विषयगत क्षेत्रहरुमा रहि नीति बजेट तथा कार्यक्रम तर्जुमा गरी पेश गर्न वडा कार्यालयलाई अनुरोध गरिएको छ ।

Previous articleनेपालगञ्जमा छात्र-छात्रा जुनियर ब्याटमिन्टन प्रतियोगिता शुरु
Next articleएकता युवा क्लबको आयोजनामा ४२ जनाद्धारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here