
नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार साँझ र रातीको समयमा उनीहरु भारतबाट आउँदै गर्दा चेकजाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहा र लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट खटिएको टोलीले शनिबार साँझ पौने आठ बजेको समयमा भारतबाट नेपाल आउन लागेका दाङ्गको लमही नगरपालिका वडा नं ५ का सोनु श्रेष्ठ र सोही ठाउँका बिशाल कुवंरलाई चेकचाँज गर्दा श्रेष्ठले गुडियाभित्र लुकाई ल्याउन लागेको ७ ग्राम ब्राउन सुगर (खैरो धुलो पदार्थ) फेला पारेको हो ।
त्यस्तै शनिबार राती दश बजेको समयमा नेपाल आउन लागेका दाङ्गको लमही नगरपालिका वडा नं ५ का २१ वर्षीय दिवस डाँगी, सोही ठाउँका १७ वर्षे (परिवर्तित नाम क) र १७ वर्षीय (परिवर्तित नाम ख) चेकजाँच गर्दा १७ ग्राम ब्राउन सुगर फेला परेको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
डाँगीले कालो झोलामा लुकाई सेतो प्लाष्टिकभित्र १८ पुडिया ब्राउन सुगर फेला परेको हो । पक्राउ परेकाहरु पाँच जनामध्ये दुई जना बालक रहेका छन् ।





