
नेपालगन्ज । ‘मानवताका लागि योग’ भन्ने नाराका साथ आठौं विश्व योग दिवस नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
योग समिति नेपालको केन्द्रिय कार्यालय न्यूरोडबाट ब्यान्ड बाजासहित निस्केको ¥याली सेतु विक चोक न्युरोड, सदरलाइन हुँदै महेन्द्र पार्कमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा योगाभ्यास समेत गरिएको थियो ।
समितिका अध्यक्ष एवम् योग गुरु गिरीराज भट्टराइको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकोले सबैले योग गर्ने जरुरी रहेको बताउनु भयो ।
उहाँले नेपालगन्जलाई योगमय बनाउने समेत विश्वास दिलाउनुभयो । उहाँले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योग अभ्यास गराउने काम गरेको प्रति धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
कार्यक्रममा योग गुरु भट्टराईले पछिल्लो समय मानिसहरु योगप्रति आकर्षित भइरहेको बताउनुभयो ।
कार्यक्रममा बाँके आयुर्वेदिक कार्यालयका प्रमुख अनिल चौधरी, योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य, राजनबहादुर राना मगर लगायतको उपस्थिती रहेको थियो ।





