
राप्ती सोनारी । राप्ती सोनारी गाउँपालिकाको ११ औं गाउँसभा केहीबेर बसेर स्थगित भएको छ । सभामा आवश्यक पर्ने गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको हो ।
सभाका सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार स्थगित भएको सभा आगामी असार १४ गते बिहान ११ बजे पुनः बस्नेछ ।
सभा शुक्रबार दिउँसो १ बजे बस्ने यसअघि तय भएको थियो । बजेट विनियोजनका विषयमा नेकपा एमाले निकट जनप्रतिनिधीले असहमती जनाएपछि गाउँसभा दिनभर अन्यौलमा परेको थियो ।
अपरान्हतिर सभा सञ्चालन गर्नका लागि पुनः बसेको कार्यपालिका बैठकमा पनि एमालेका जनप्रतिनिधीहरु सहमतीमा नआएपछि बेलुका ६ बजेतिर ११ औं सभा सञ्चालन गरिएको थियो ।
एमाले निकट जनप्रतिनिधी अनुपश्चित भएपनि सभा केहीबेरसम्म सञ्चालन भएको थियो । उक्त सभामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाका गरी १९ जना जनप्रतिनिधीले सहभागिता जनाएका थिए ।
गाउँ सभामा सभाध्यक्ष सहित ४७ जना सदस्य छन् । यसमध्ये एमालेका २७ र कांग्रेस, माओवादी तथा राप्रपाका २० जना सदस्य छन् ।
गाउँपालिका अध्यक्ष पौडेलले यही असार ८ गते नीति तथा कार्यक्रम र बजेटलाई कार्यपालिका बैठकबाट निर्णय गरिएको र एमालेका जनप्रतिनिधी आफैंले गरेको निर्णय विपरित सभामा अनुपश्चित भएको बताउनुभयो ।
सभाका सदस्य समेत रहेका वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओलीले बजेट बाँटफाँटका विषयमा कार्यपालिकाले यसअघि गरेको निर्णय परिवर्तन भएकाले असहमती जनाउनु परेको जिकिर गर्नुभयो ।





