नगरबासीको लापरवाहका कारण फोहोरलाई मल बनाउन समस्या

रुपा गहतराज
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा दैनिक ३० टनभन्दा बढी फोहोर उत्सर्जन हुन्छ । उपमहानगरले त्यस्तो फोहोर ल्यान्डफिल साइटमा जम्मा गर्दै आएको छ ।

तीन वर्षअघि सञ्चालनमा आएको ल्यान्डफिल साइटमा फोहोर संकलन गरी कुहिने र नकुहिने फोहोर छुट्याइन्छ । सो ल्यान्डफिल साइटमा ३० जना कर्मचारीले काम गरिरहेका छन् ।

ठेकेदारमार्फत संकलन भएको फोहोरलाई छुट्याउने काम भइरहेको हो । चितवनका राजु गुरुङले ठेक्का पाएका हुन् । यहाँ दैनिक रूपमा फोहोर संकलन हुन सकेको छैन ।

राजमार्गका प्रमुख चोकमा नगरकै गाडीले फोहोर संकलन गरे पनि वडाहरूको फोहोर भने वडामार्फत संकलन भइरहेको छ ।ल्यान्डफिल साइटमा ल्याइएको फोहोरमा कुहिने र नकुहिने फोहर एकै ठाउँमा हुने भएकाले छुट्याउन समस्या छ ।

उपमहानगरले कुहिने र नकुहिने फोहोर छुट्याउन ३० हजार प्लास्टिकका बाल्टिन बाँडेको थियो । तर, नगरवासीले फोहोर व्यवस्थापनमा सचेतना नदेखाउँदा फोहोरलाई मल बनाउन समस्या भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरको तेलियनपूर्वामा १२ बिघा क्षेत्रफलमा एसियाली विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले ल्यान्डफिल साइट निर्माण गरेको हो ।

आगामी ५० वर्षसम्म नेपालगञ्ज सहरको फोहर व्यवस्थापनमा कुनै समस्या नआउने गरी आधुनिक संरचना बनाइएको छ । ३८ करोड रुपैयाँको लागतमा निर्माण भएको ल्यान्डफिल साइट व्यवस्थित र देशकै नमुना बन्ने गरी संरचना निर्माण भएको नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण तथा सरसफाई शाखाका इन्जिनियर प्रकाश डीसीले बताउनुभयो ।

‘नेपालगन्ज सहरभरि उत्सर्जन हुने फोहोरलाई डम्पिङ साइटमा लगेर छुट्याइन्छ । जैविक मल उत्पादन गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाएका छौं तर सोचेजति काम हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘खर्च बढ्दै जाने भएकाले मिक्स सोसाइटीमा काम गर्न गाह्रो भएको छ ।’

फोहोरबाट उत्पादन हुने मल उपमहानगरपालिकाको दिगो आम्दानीको स्रोत बन्ने भने पनि सोचे अनुरूपको प्रतिफल हासिल गर्न नसकिएको इन्जिनियर डीसीले बताउनुभयो ।

फोहोर फाल्ने ठाउ नहुँदा बजारको फोहोर कहिले उठ्ने, कहिले नउठ्ने, फोहोर उठाउन पनि दबाब दिनुपर्नेपर्ने स्थिति थियो । नगरपालिकाले ‘रोटेसन’ मिलाएर फोहोर उठाउन आधुनिक ल्यान्डफिल साइट बनाएपछि अब फोहोर कहाँ फाल्ने भन्ने चिन्ता टरेको छ ।

निजी क्षेत्रका १६ वटा ट्र्याक्टरले अहिले नगरको फोहोर दैनिक ल्यान्डफिल साइटमा लगेर फालिरहेका छन् । नगरपालिकाको सरसफाई शाखामा १ सय ५० जना कर्मचारी छन् ।

ती कर्मचारीले सडक बढार्नेदेखि फोहोर संकलन गर्नेसम्मको काम गर्छन् । ल्यान्डफिल साइट सहरभन्दा टाढा रहेकाले वातावरणीय दृष्टिकोणले पनि उपयुक्त भएको नगरपालिकाले जनाएको छ ।

Previous articleमल अभाव र महंगी बिरुद्ध एमालेद्धारा दुई घण्टा प्रदर्शन
Next articleमनिकापुर उपशाखाको सभापतिमा नमराज सापकोटा चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here