
✒️बिष्णु प्रसाद पाेखरेल ।
हाम्रा सहरमा ठेलामा घुम्ती रेस्टुरेन्ट सामान्य नै हुन । म सानो छदा पनि भेलीका खटपटे मिठाइँ, मुसलपट्टी, भुवादार कटन क्यान्डी र बरफ निकै लोकप्रिय थिए । अहिले पनि यी सब स्वच्छ र व्यवस्थित रुपमा पसलमा पाउदैनन । केटाकेटी बाध्य छन सडकमै दौडन ।
निम्न, मध्यम या संभ्रान्त ठानिने जोसुकै भएपनि ईन्सट्यान्ट नास्ता अहिले पनि ठेलामै मन पराउछन । यसबाट तुरुन्तै खान मिल्ने, बेग्लै मजा आउने र श्रमजीवी ठेलावालाको रोजगारी हुने कुरा राम्रो पनि हो । तर स्वास्थ्य र सरुवा रोगको जोखिमको कारण अब यी खानेकुरामा सतर्कता हुनुपर्ने देखिन्छ !
तयारी नास्ता या नि नपकाई सिधै खानेबस्तु जस्तै: चाट, पानीपुडी, समोसा, अण्डा, पान, मिठाइँ, अहिले त माछा, चाउमिन र मोमो समेत ठेलामै गुडाएर बेच्ने चलन छ । यसरी वितरण हुने तयारी खानेकुरा र फलफुलबाट निकै जोखिम छ । धेरैले हातले छुने, धुलो पस्ने, ससाना भुसुना लाग्ने, नालीको किनार किनारमा राखिने गर्दा जनस्वास्थ्यमा खुला खानेकुराले जोखिम पार्छ नै । अझ अहिलेको कोरोनाको त्रासदीमा त यसबाट अझै थप जोखिम हुन सक्छ ।
तराईका सहर उदाहरणका रुपमा नेपालगन्जको त्रिभुवन चोक यी सब कुरामा लोकप्रिय छ । मीठो चाट र पानी पुडीमा माहिर छ । अनि पान पानी पुडी र चाटमा नेपालगन्जिया यती पारखी छौँ कि यसका अघि सबै भुल्छौं पनि । अनि जोखिम बढने नै भयो ।
स्थानीय तह देखि केन्द्रसम्म कोरोना व्यवस्थापनमा तिलमिलाएको छ, नागरिकको हिडडुल गर्ने र किनेर खाने अधिकारसम्म खोस्न बाध्य छ । मर्नुभन्दा कठिनाइ सहनु उत्तम हो । सायद यही सोचेर ठेलाको तयारी पकवान बन्द गरिदै छ ।
अहिले सरुवा रोगको आतंक छ, जता मुस्लो देखिन्छ उतै धुलो हाल्नु बाहेक अहिलेलाई अरु उपाय पनि छैन।
ठेलाका खानेकुरा र सरुवा रोगको ईपिसेन्टर दुबै घना बजारबाटै हुने हुदा यसलाई व्यवस्थापन गर्न जरुरी पनि छ । सायद यसै कारणले हो कि ठेलामा खानेकुरा बन्द हुने गाईगुई सुनिन्छ !
यसो भए तल्लो तप्कामा आघात पर्न सक्छ । यसको लागि ससाना नास्ता पसल कसरी चलाउने योजना बनाउन जरुरी देखियो । कहिलेकाही घोचपेच गरेपनि, अनियमितता गर्दा नाङ्गेझार पारेपनि जनताको भरोसा जनप्रतिनिधि मै छ । तसर्थ जनप्रतिनिधिले यता ध्यान दिन जरुरी छ । अब स्थाइ रुपमै श्रमजीवीको काम नखोसिने र सस्तोमा खान पाईने कसरी गर्न सकिन्छ स्थानीय सरकारले योजना बनाउन पर्छ, सन्तुलित व्यवस्थापन गर्नुपर्छ।
सरकार ! भोको पेटमा अन्यौल नहोस !





