
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा संचालन भएको नवजात शिशु तथा बालरोग परीक्षण शिबिरमार्फत एक सय २३ जनाले सेवा लिएका छन् ।
वडास्तरमै स्वास्थ्य सेवा पुर्याउन नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ४ को स्वास्थ्य केन्द्रमा शनिबार आयोजना गरेको शिबिरमा ६७ जना बालिका र ५६ जना बालकको स्वास्थ्य परीक्षण गरिएको हो ।
कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै वडा नं ४ का वडा अध्यक्ष गोपाल पुनले शिबिरमार्फत स्थानीयलाई घरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्य रहेको बताउनुभयो । उहाँले वडा नं ४ का जनतालाई स्वास्थ्यमा समस्या देखिनेबित्तिकै स्वास्थ्य केन्द्रमा पुग्न पनि अनुरोध गर्नुभयो ।
शिबिरमा बालरोग बिषेशज्ञ रोमा बोरा, निराजन भण्डारीले स्वास्थ्य जाँच गर्नुभएको थियो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनोजिया, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा राम बहादुर चन्द्र लगायतको उपस्थितिमा शिबिर संचालन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन शत्रलाई नेपालगञ्जका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले संचालन गर्नुभएको थियो । शिबिरमा बालबालिकाहरुको स्वास्थ्य जाँचसंगै निःशुल्क रुपमा औषधी समेत बितरण गरिएको थियो । कान्ति हेल्थलाईन नेपालगञ्जले शिबिरमा सहकार्य गरेको थियो ।





