
प्रहलाद विश्वकर्मा, नेपालगज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा रगत तथा रक्ततत्व निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सोमवार नेपालगंजमा सम्पन्न भएको छ ।
हालसम्म रगतको वैकल्पीक व्यवस्था नरहेको तर एक युनिट रगतबाट आवश्यकता नुसार विभिन्न प्रकारको रक्ततत्व निर्माण गर्न सकिने चिकित्सकले बताउँदै आएका छन् । उक्त सेवा नेरेसो प्रादेशिक रक्तसंचार सेवा नेपालगंजमा उपलब्ध रहेको रेडक्रसले जनाएको छ ।
गोष्ठीको सहजीकरण गर्दै भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. राजन पाण्डेले इमेरजेन्सी बाहेक सामान्य अवस्थामा रगत चढाउन नहुने बताउनुभयो । विरामीको अवस्था हेरी शरीरले आफै रगतको पूर्ति गर्न सक्ने अवस्था भएकोले त्यसतर्फ ध्यान दिन चिकित्सकहरुलाई अनुरोध गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले चिकित्सा पद्धतीमा रक्तसंचार सेवा एउटा महत्वपूर्ण कार्य रहेकाे भन्दै नेपालको जनसंख्यामध्ये २ प्रतिशतले मात्र रक्तदान गरेमा रगतको आपूर्ति व्यवस्था सहज हुने बताउनुभयो । उक्त सेवा सफल गर्न स्वयंसेवी रक्तदाता, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई अनुरोध गर्नुभयो ।
बाँके जिल्लामा २०३३ सालमा रक्तसंचार सेवा स्थापना भएको हो । स्थापना कालदेखि हालसम्म २ लाख ३९ हजार ७ सय ४६ पिन्ट रगत वितरण गरिएको बताइएको छ । बाँकेको रक्तसंचार सेवाबाट लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका विरामी तथा घाइतेलाई सेवा दिँदै आएको रक्तसंचार सेवा नेपालगंज प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।
नेरेसो बाँके शाखाका सभापति सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपनिर्देशक दोलखबहादुर डाँगी, भेरी अस्पतालका नि.मेडिकल सुपरिटेन्ड बद्री चापागाई, शुशिल कोइराला क्यान्सर अस्पतालका प्रमुख कृष्ण अर्चाय लगायतले विचार राख्नु भएको थियो ।
भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा.पाण्डे र नेरेसो प्रादेशिक रक्तसंचार सेवाका बरिष्ठ प्राविधिक अधिकृत रेग्मीले गर्नु भएको थियो । कार्यक्रमलाई नेरेसो बाँकेका लेखा अधिकृत झवीलाल शर्माले संचालन गर्नु भएको थियाे ।





