
बाँके । प्रहरीले बुधबार फेरी अबैध पानको पात र सुर्ति नियन्त्रणमा लिएको छ । प्रहरीले नरैनापुर गाउँपालिका वडा न–२ प्रहरी चौकी लक्ष्मणपुरको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको पानको पात र सुर्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान नौ बजेको समयमा अबैध १ बोरा पानको पात र ९२ पोका सुपर पावर सुर्ति नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको सामान कारवाहीको लागि नेपालगंज भन्सार कार्यालयमा पठाईएको छ । पछिल्लो समय बाँके प्रहरी भारतीय क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याइएका सामानहरु दैनिक जसो नियन्त्रणमा लिँदै आएको छ ।
मंगलबार पनि डुडुवा–३ स्थित प्रहरी चौकीले सीमा नजिकबाट अबैध पानको पात र सुर्सिसहित एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएको थियो ।





