
बाँके । जिल्लामा मास्क नलगाई घर बाहिर निस्कने १ हजार १ सय १४ जना कारवाहीमा परेका छन् ।
सरकारले जारी गरेको संक्रामक रोग ऐन २०२० बिपरित घर बाहिर निस्कँदा सुरक्षा सावधानी नअपनाएका कारण उनीहरु कारवाहीमा परेका हुन ।
कोरोनाको संक्रमण बढेपछि शुरु भएको मास्क बितरण तथा नियन्त्रण अभियानदेखि हालसम्मको अवधीमासम्म मास्क नलगाउने एक हजार बढिलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक एंव प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।
अभियानका क्रममा मास्क नलगाएर घर बाहिर निस्किएका कतिपय सवारी साधानका चालक र सर्वसाधारणले जरिवाना तिरेका हुन । गरिएको कारवाहीबाट प्रहरीले १ लाख ११ हजार ४ सय रुपैया राजस्व संकलन भएको छ ।
कोरोनाको प्रकोपलाई कम गर्नका लागि जिल्लामा शुरु भएको दोस्रो चरणको बन्दाबन्दीसंगै प्रहरीले मास्क बितरण तथा कारवाही अभियान शुरु गरेको थियो ।





