अग्रिम हाजिर गर्ने डा.नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेश

काठमाडौं । अग्रिम रुपमा सरकारी अस्पतालमा हाजिर गर्दै निजीमा गएर काम गर्ने भेरी अस्पतालका डाक्टरमाथि कारबाही अगाडि बढेको छ ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेश कुमार नागले अग्रिम हाजिर गर्दै निजीमा काम गरेको फेला परेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेश सहितको पत्र पठाएको छ। मन्त्रालयले बुधबार डा.नागलाई मन्त्रालयमा उपस्थित हुन पत्र काटेको हो ।

मन्त्रालयमा आएपछि उहाँमाथि स्पष्टीकरणसहित अन्य कारबाही प्रक्रिया अगाडि बढाउने तयारी मन्त्रालयले गरेको छ ।

डा.नाग असार २० गते अस्पतालमा पुगेर असार २९ गतेसम्मको हाजिरी गरेर गएको प्रमाणसहित जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कारबाहीका लागि माग गर्दै पत्र पठाइएको थियो ।

सोमबार (असार २० गते) अस्पताल पुगेर २९ गतेसम्मको अग्रिम हाजिरी गरेको पाइएपछि अस्पताल विकास समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि लेखि पठाएको थियो । त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको थियो ।

डा. नागले अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको भन्दै यसअघि पनि अस्पताल विकास समितिले २०७८ साल साउन २२ गते कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो । त्यसको सुनुवाइ भएको छैन।

डा.नागलाई अहिलेसम्म पनि कारबाहीको प्रक्रिया अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धितालले जानकारी दिनुभयो ।

नेपालगन्जको पासाङल्हामु मार्गमा डा.नागको आफ्नै वैष्णवी अस्पताल सञ्चालनमा रहेको छ । भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको छ ।

डा.नागलाई कारबाही गर्न समितिले २०७८ साउन २२ मा स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको थियो । तर, स्वास्थ्य मन्त्रालयले अहिलेसम्म सचेत गराउनेसम्म पनि चासो नदिएपछि नागको मनोमानी बढेको अस्पताल स्रोत बताउँछ । स्वास्थ्य खबर

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments