बाँकेकाे नरैनापुर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

नरैनापुर । नरैनापुर गाउँपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिकाको रूपमा घोषणा गर्नुभएकाे हाे ।

उहाँले बालबालिकाको मौलिक अधिकार भएकाले सबै पालिकालाई खोपको पहुँचमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

‘खोप सुरक्षित जीवनको आधार हो । बालमृत्युदर घटाउन यसको महत्व ज्यादा छ’, उहाँले भन्नुभयाे, ‘खोप लगाए/नलगाएकोबारे सबैले ख्याल गरौँ र नलगाएको भेटिए लगाउन प्रेरित गरौँ ।’

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहको अध्यक्षता तथा स्वास्थ्य कार्यालय बाँके प्रमुख धिरजंग शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका अध्यक्ष शाहले खोपको दायराभन्दा बाहिर रहेका बालबालिकाको खोजी गर्न आग्रह गर्नुभयाे ।

‘हामीले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्दै गर्दा कति खोप नै नलगाएको बालबालिका भेटिए भने राम्रो सन्देश जाँदैन । कोही पनि खोप लगाउनबाट छुट्नु भएन । यसमा सबैले ध्यान दियाैँ’, उहाँले भन्नुभयाे, ‘खोपले रोग लाग्नुभन्दा लाग्नै नदिने काम गर्ने भएकाले खोप अभियानलाई अझ व्यापक बनाउन जरुरी छ ।’

नरैनापुर गाउँपालिकाभित्र चालु वर्ष जन्मदेखि १५ महिनाका १ हजार ४५ र जन्मेको १६ महिनादेखि २३ महिनासम्मका १ हजार २४ जना बालबालिकाले नियमित खोप लगाएका छन् ।

वार्षिक लक्ष्यअनुसार ९० प्रतिशत बालबालिकाले खोप लगाएको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुभयाे ।

एउटा शिशुले जन्मदेखि १५ महिनासम्म विसीजी, डिपीटी, पोलियो, पिसिभी, एफआईपीभी, दादुरा, रोटा र टाइफाइड विरुद्धको खोप लगाउने पर्ने हुन्छ ।

पूर्ण खोप सुनिश्चितता कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं ६ का अध्यक्ष प्रेम कुमार मौर्य, स्वास्थ्य चौकीका प्रमुख लगायतको सहभागी हुनुहुन्थ्यो ।

नरैनापुरको ६ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

Previous articleकोहलपुर नगरपालिकाको अत्याधुनिक भवन सिलन्यास
Next articleनेपाल टेलिभिजन काेहलपुर २६ औं वर्षमा प्रबेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here