
प्रहलाद विश्वकर्मा
नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा लू (तातो हावा) सम्बन्धी ज्ञान आदान प्रदान कार्यशाला विहीवार नेपालगञ्जमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालकै सबैभन्दा बढी गर्मी हुने नेपालगञ्ज शहरको हिटवेभ सम्बन्धी अध्ययन भएको र उक्त प्र्रतिवेदनको आधारमा नगरपालिकाले योजनाबद्ध तरिकाले काम आगाडी बढाउने बताउनुभयो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हिटवेभ र सुपर कार्यक्रमको बारेमा चर्चा गर्दै समुदायको क्षमता विकासमा रेडक्रसले सहयोग गर्ने बताउनुभयो ।
रेडक्रसका विपद् तथा संकट व्यस्थापन विभागका निर्देशक विपुल न्यौपानेले हिटवेभ सम्बन्धी नेपालगञ्ज बासीहरुसंग गरिएको छलफल र नेपाल सरकारको निकायले दिएको तथ्याँकको आधारमा हिटवेभको रिर्पोट तयार भएको जानकारी दिनुभयो ।
फिनिस रेडक्रसका शुष्मा श्रेष्ठले हिटवेभ अरु विपद् जस्तो तत्काल क्षति नदेखिएता पनि यो मानव स्वास्थ्यमा बढी असर गर्ने गरेको बताउँदै विभिन्न देशमा त्यहाँका सरकारसंग मिलेर रेडक्रसले हिटवेभ सम्बन्धी कार्यक्रम संचालन गरिरहेकोे बताउनुभयो ।
कार्यशालामा रेडक्रस नेपालगञ्ज केन्दी्रत लू सम्बन्धमा गत वर्ष अनुसन्धनात्मक अध्ययन गरेको र उक्त अध्ययनको निष्कर्षहरु प्रस्तुत गरिएको थियो । अनुसन्धानमा नेपालगञ्जका उच्च तापक्रम भएका वडाहरु लू को कारण संकटासन्न वडा एवं समूह, यसले पारेको असर तथा प्रभाव न्यनिकरणका लागि गरिएका गतिविधिहरु र आगामी दिनमा गर्न सकिने पहलहरुको बारेमा विस्तृत छलफल गरिएको थियो ।
अधिकाँश व्यक्तिहरुले हिटवेभको प्रभावलाई कम गर्न स्थानीय तहले सक्रियता देखाउनु पर्ने, जल संचय हुने पोखरी, तालहरु संरक्षण गर्नुपर्ने र खुला स्थानमा बृक्षारोपण गरी हरियाली गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
यस्तै रेडक्रसले नमुनाका रुपमा नेपालगञ्जमा संचालन गरिरहेको हिटवेभ प्रतिकार्य कार्यक्रमबाट जनचेतनामुलक गतिविधि संचालन भएको बताइएको छ ।
कार्यक्रममा परामर्शकर्ता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन र युनिसेफका नरेश निदालले शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको समुुदायस्तरको अध्ययन प्रतिवेदन र हाइड्रोलोजिकल सम्बन्धी प्रस्तुत गर्नु भएको थियो ।
रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विपद् संयोजक समीर प्रताप सिंह, कार्यपालिका सदस्य बसन्त कनोजिया, रेडक्रस बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगी लगायतले विचार व्यक्त गर्नुभएको थियो भने सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले कार्यक्रम संचालन गर्नु भएको थियो ।





