
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ वडा कार्यालयमा शिलालेख राख्ने विषयमा विवाद भएको छ ।
बिहीबार निवर्तमान वडाध्यक्ष बुद्धिसागर सुवेदीले वडा कार्यालयमा आफैंले शिलालेख राख्न खोज्दा विवाद उत्पन्न भएको हो ।
आफ्नो कार्यकालमा जनताको पैसाबाट किनिएको ट्रयाक्टर र फोहोर व्यवस्थापन सम्बन्धी बनेको उपभोक्ता समितिको शिलालेख राख्न उहाँ वडा कार्यालय पुग्नुभएको थियो ।
आफ्ना समर्थकसहित वडा कार्यालयमा पुगेका निवर्तमान वडाध्यक्ष सुवेदीले शिलालेख राख्नका लागि आफैले नापजोख गरेर छिनो चलाएर भित्ता फोड्नुभयो । उहाँको कार्यविरुद्ध वडाध्यक्ष तरुण बज्राचार्यले चर्को विरोध गरेपनि उहाँले काम रोक्नुभएको थिएन ।
पछि स्थितिलाई नियन्त्रणमा लिन वडाध्यक्ष बज्राचार्यले प्रहरी बोलाउनुभएको थियो । सुवेदीले विगतमा आफूले नभ्याएको भन्दै अहिले शिलालेख राख्न खोजेको बताउनुभयो । यता बज्राचार्यले भने वडा कार्यालयसँग कुनै समन्वय नगरेर आफूखुसी कानुन हातमा लिएर जबरजस्ती शिलालेख राख्न खोजिएको बताउनुभयो ।
‘आफूले बनाएको भवनमा मैले जे गरेपनि हुन्छ भन्ने दम्भ उहाँमा देखियो । वडाध्यक्ष बज्राचार्यले भन्नुभयो, वडाले यस विषयमा कुनै निर्णय गरेको पनि छैन । न उहाँले वडा कार्यालयसँग समन्वय नै गर्नु भएको छ ।’
वडा कार्यालय १२ ले उक्त घटनामा निन्दा गर्द प्रेश वक्तव्य निकालेको छ । ‘गैर कानुनी तवरले आफूखुसी शिलालेख टाँस गर्ने नाउँमा छिना, हतौडा आदिको सहायताले कार्यालयको भित्री दिवाल तोडफोड गरी कार्यालयमा क्षति पुर्याएकोले उक्त कार्यको यस कार्यालय घोर निन्दा गर्दछौं,’ वक्तव्यमा उल्लेख छ ।
त्यस्तै वक्तव्यमा जवरजस्ति सार्वजनिक सम्पत्ति तोडफोड गर्ने गैरकानुनी कार्य गर्ने जो कोहीलाई तत्काल कानुनी दायरामा ल्याउनसमेत अनुरोध गरिएको छ ।
यसअघिको २०७४ सालको स्थानीय चुनावबाट वडाअध्यक्षमा सुवेदी र वडासदस्यमा बज्राचार्य चयन हुनुभएको थियो । उहाँहरु दुवै नेपाली कांग्रेसबाट चुनाव जित्नुभएको थियो भने २०७९ वैशाख ३० गते सम्पन्न चुनावमा सुवेदीलाई हराउँदै बज्राचार्य वडा अध्यक्षमा चयन हुनुभएको छ । यसपटक भने सुवेदी जनता समाजवादी पार्टी (जसपा) र बज्राचार्य कांग्रेसबाट चुनाव लड्नुभएको थियो ।





