
नेपालगन्ज । द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को-अर्डिनेटर मिखा माथेमाले बाँकेको जयेन्दु बाल सुधार गृहलाई व्यक्तिगत रुपमा ६५ हजार रुपैयाँको खेलकुद र शैक्षिक सामग्री सहयोग गर्नु भएको छ ।
गत जेठमा सुधार गृहको स्थलगत अवलोकन गर्नुभएकी माथेमाले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । द आर्ट अफ लिभिङ मुख्यालय भारतको बेङ्ग्लोरबाट आएका स्वामी ओमकारानन्दले बाल सुधार गृहकी इन्चार्ज विमला काउचालाई आइतबार ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।
द आर्ट अफ लिभिङका स्वयंसेवक सुधीर गौतमका अनुसार कापी ३८० वटा, कलम ३८० वटा, ड्रङग कापी ५० वटा, पेन्सिल कलर सेट ५० वटा, फुटबल ३ वटा, भलिबल ३ वटा, क्रिकेट सेट र १२ वटा लेदर बल, भलिबल जाली, ब्याटमिन्टन ४ वटा, ब्याटमिन्टन कक ६ वटा, चेस ५ वटा, लुडो ५ वटा, क्यारेम बोर्ड एउटा हस्तान्तरण गरिएको हो ।
‘तिमीहरुको मैले मुहारमा तनाव देखिरहेको छु । मानसिक र शारीरिक रुपमा स्वस्थ हुनका लागि पनि तिमीहरुले खेल्नुपर्छ’, शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गर्दै स्वामी ओमकारानन्दले भन्नुभयो, ‘कुनै परिबन्धमा परेर तिमीहरुबाट गल्ती भयो । जीवनमा गल्ती सबैबाट हुुन्छ । गल्ती दोहो¥याए मुुर्ख हुन्छौं । गल्तीबाट पाठ सिक्न सकेर सत्कर्ममा लागेमा घर, परिवार र समाजका लागि उदाहरणीय व्यक्ति बन्न सक्छौं ।’
कार्यक्रममा बाल सुधार गृहकी इन्चार्ज काउचा मगरले बाल सुधार गृहका बालकका लागि खेलकुद सामग्रीले तनाव मुक्त गर्न मद्दत मिल्ने बताउनुभयो । हस्तान्तरण कार्यक्रममा द आर्ट अफ लिभिङका योग प्रशिक्षक सुचिता थापा र स्वयंसेवक शंकरप्रसाद खनालको पनि उपस्थिति रहेको थियो । सुधार गृहमा केही समय अगाडि द आर्ट अफ लिभिङले ५ दिने नव चेतना योग शिविर पनि सञ्चालन गरेको थियो ।





