
नेपालगञ्ज । करिब चार वर्षपछि नेपालगञ्ज उपमहानगरपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठक बसेको छ ।
नेपालगञ्जका नगर प्रमुख प्रशान्त बिष्ट अध्यक्षतामा आइतबार बसेको बैठकले बिभिन्न समस्याका सम्बन्धमा छलफल गर्दै निर्णय समेत गरेको छ ।
बैठकले नगर तथा वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिती पुनर्गठन गर्ने निर्णय गरेको छ । यस्तै वास कार्यदल पुनर्गठन समेत गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाईका क्षेत्रलाई अझ व्यवस्थित बताउनका लागि समेत छलफल गरिएको छ । यस्तै बैठकमै नेपालगञ्जमा संचालित स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजनाका बारेमा छलफल गरिएको थियो ।
बैठकमा नगर उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, १ देखि २३ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, रहेको थियो भने एस एन भि नेपालको सहयोगमा परियोजना संचालन गर्दै आएको गेरुवा ग्रामीण जागरण संघ बर्दिया नेपालगञ्जका परियोजना संयोजक गफ्फार अलि बेहना शेख र एस एन भिका वास अधिकृत सुरज राजभण्डारीको समेत उपस्थिति रहेको थियो ।





