
नेपालगञ्ज । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं पक्राउ परेका छन्।
कोहलपुरमा प्रहरी हिरासतमा रहेकी एक महिलालाई शुक्रबार बिहान २ बजेतिर निकालेर भवनको माथिल्लो तलामा लगेपछि उनीमाथि यौन दुर्व्यवहार तथा बलात्कार भएको आशंकामा चौलागाईं पक्राउ परेका हुन् ।
असईले मध्यरातमा आफ्नो कोठामा लगेर सामान्य सोधपुछ गर्नुको साथै हातपात गरेको भन्ने कुरा आएको हुँदा घटना अनुसन्धानका लागि चौलागाईंलाई नियन्त्रणमा लिएर जिप्रका बाँकेको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
‘हामीले पीडित महिला, उनका श्रीमान र बाबुआमालाई समेत जाहेरी ल्याउनुस् । असईमाथि कानुनी कारबाही गर्छौं भनेका र्छौं,’ अधिकारीले भन्नुभयो, ‘अहिले फेरि कुरा अलि फरक ढंगले आउन थालेका छन् । ती महिला र उनका बाबु आमाले बलात्कार भएको होइन भन्ने ढंगले कुरा गर्न थाल्नुभएको छ ।’
पीडित भनिएका व्यक्तिहरूले नै कुरा बदल्न थालेको उहाँले बताउनुभयो । महिलाका बुवा आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएको एसपी अधिकारीले बताउनुभयो ।
‘पीडितले जे भन्नुहुन्छ, त्यही अनुसार प्रहरी अगाडि बढ्ने छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरूलाई न्याय दिलाउने काम हाम्रो हो र उहाँहरूले जे भन्नुहुन्छ, त्यही हुन्छ।’
पीडित र उनका श्रीमानले बिहानसम्म असई चौलागाईंले मध्यरातमा आफ्नी श्रीमतीलाई हिरासतबाट कोठामा लगेर बलात्कार गरेको भन्ने सूचना दिँदै पक्राउ गर्न आग्रह गरेपनि पछिल्लो समय उनीहरूले हातपातको प्रयास मात्रै भएको तथा यौनदुर्व्यवहार भएको भनेर बयान फेरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
‘म मानव अधिकारकर्मीसहितको टोलीसँग कोहलपुर जाँदैछु,’ डिएसपी न्यौपानेले भन्नुभयो ‘जोहरी दिनुस् भन्दा अहिले आएर बलात्कार गरेको होइन भनेर कुरा फेर्ने अलि अप्ठेरो कुरा हुन थाल्यो ।’ तथ्य कुरापछि बुझेर मात्रै भन्न मिल्ने उहाँले बताउनुभयो ।
इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बर्दिया घर भई झन्डै ८ महिनादेखि मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईंले जे जसरी आफ्नो बचाउ गरे पनि उनको नियतमा खोट देखिएको स्पष्ट भइसकेको बताउनुभयो ।
‘मध्य राती सोधपुछको बहानामा आफू मातहतका कर्मचारीलाई एउटी थुनुवा महिलालाई निकाल्न लगाएर माथिल्लो तलाको आफ्नो कोठामा लैजानु आचरण विपरीतको कार्य हो,’ मल्ले भन्नुभयो, ‘त्यति मध्यराती एउटी महिलासँग के सोधपुछ गर्नुपर्ने थियो, यहाँनेर ठूलो प्रश्न उब्जिएको छ ।’
असई चौलागाईंले हिरासतमा भएकी महिलालाई मध्य रातमा निकाल्न आदेशपछि हिरासतमा बसेका अरूले हल्ला खल्ला गरेका थिए ।
‘यति राती महिलालाई किन निकालेर लगियो भनेर हिरासतमा रहेका केटाहरूले हल्ला खल्ला गरेका रहेछन्,’ डिएसपी मल्लले भन्नुभयो, ‘आरोपीले त सोधपुछ मात्रै गर्न बोलाएको हुँ भन्दै बचाउ गरिरहेका छन ।’
पीडित भनिएकी महिलाले पनि चौलागाईंले सोधपुछ मात्रै गरेको भनेर बयान फेरेकी भएपनि उनका श्रीमानले त्यसो भए मध्यरातमा किन लगेको हो त ? भनेर प्रश्न गरिरहेको मल्लले बताउनुभयो ।
डिएसपी मल्लका अनुसार बहुविवाह मुद्दामा ती महिला साउन ११ गते पक्राउ परेकी थिइन् । असईं चौलागाईंले उनलाई आफ्नो कोठामा लगेको झन्डै दश मिनेटपछि छोडेको भन्ने खुलेको डिएसपी मल्लले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । साभार : सेतोपाटी





