
नेपालगञ्ज । शैक्षिक सुधारमा लागेको बाँकेको नरैनापुर गाउँपालिकामा ठुलो संख्यामा शिक्षकको माग गरिएको छ ।
पछिल्लो समय शिक्षा क्षेत्रको सुधारले नै गाउँपालिकाको समग्र बिकासमा सहयोग पुग्ने योजना अनुसार अघि बढदै आएको नरैनापुरमा एकैपटक १८ जना शिक्षकको आवश्यकता माग गरिएको हो ।
आधारभुत बिद्यालयको कक्षास्तर बृद्धि गरिएका कारण एकैपटक ठुलो संख्यामा शिक्षक माग गरिएको नरैनापुर गाउँपालिका शिक्ष, युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण कुमार थारुले जानकारी दिनुभयो ।
‘गाउँपालिकाको संरचना निर्माण भएदेखि नै नरैनापुरमा शैक्षिक सुधारलाई प्राथमिकतामा राखिएको छ ।,’ शिक्षा प्रमुख थारुले भन्नुभयो, ‘हामीले ६ कक्षाको स्तर बृद्धि गरिएपछि भएको दरबन्दी अभाव भयो, त्यस कारण शिक्षकको माग गरिएको हो ।’
नरैनापुरमा ९ वटा दरबन्दी र १ राहत कोटा रहेको छ । पहिला ६ कक्षासम्म अध्ययन कार्य ४ वटा मात्रै बिद्यालयमा थिए । हाल ६ वटै वडामा पर्ने गरी ६ कक्षासम्म स्तरबृद्धि गरिएको शिक्षा प्रमुख थारुले बताउनुभयो ।
कक्षास्तर बृद्धिसंगै बिद्यार्थीहरुको चाप बढेको छ । अघिल्लो शैक्षिक सत्रमा ६ कक्षामा साढे चार सय बिद्यार्थी रहेकोमा यो वर्षको करिब दोब्बरले बृद्धि भएर आठ सयको हारहारीमा पुगेका छन् ।
गाउँपालिले करार सेवामा निम्न माध्यमिक तहमा नेपाली बिषयका ५ जना, गणित बिषयका २ जना, बिज्ञान बिषयका २ जना, अंग्रेजी बिषयका ५ जना र सामाजिक बिषयका ४ जना शिक्षकको माग गरेको हो ।
५० वटा सामुदायिक बिद्यालय रहेको पालिकामा २९ वटा मदरसा, ४ वटा मा.बि र ६ वटा आधारभूत बिद्यालय रहेका छन् ।





