बाघको छालासहित कैलालीमा चार जना पक्राउ

धनगढी । कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो जीपमा डोटीबाट ल्याउँदै गरेको छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले डोटीको जोरायल गाउँपालिका-२ का जीप चालक समिर ओली, कैलालीको चुरे गाउँपालिका-६ बस्ने टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडीको डिलासैन गाउँपालिका-२ राजेन्द्रसिंह भण्डारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उनीहरूले सेतो प्लाष्टिक कट्टामा बाघको छाला र हड्डीहरू बाँधेको अवस्थामा बरामद गरिएको छ । डीएसपी जोशीकाअनुसार प्रारम्भिक सोधपुछका क्रममा चालक ओलीले बुडरबाट बोलेरो जिप चलाएर फल्टुडेमा बाघको छाला र हड्डी हालेर बिक्री गर्ने उदेश्यले चारै जनाको सहमतिमा अत्तरियातर्फ आएको बुझिएको छ ।

बाघको छालाको लम्बाइ टाउकोदेखि पुच्छरसम्म ४ फिट ७ इन्च, पुच्छरको लम्बाई ३ फिट २ इन्च, चौडाइ २ फिट २ इन्च रहेको प्रहरीले जनाएको छ । हड्डीको तौल २ किलो छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

Previous articleलुम्बिनीमा सामाजिक सूचना व्यवस्थापन प्रणाली शुरु
Next articleबाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्याैपाने सहित ४३ जनाकाे सरूवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here