
डुडुवा । ब्रेनह्यामरेज भएर उपचार गराईरहनुभएका पत्रकार उदयराज जैसवाललाई नेपाल प्रेस युनियन बाँकेले आर्थिक सहयोग गरेको छ ।
सोमबार नेपाल प्रेस युनियन बाँके अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा जैसवालको परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । अध्यक्ष ओलीले उदयराजकी धर्मपत्नी रानी जैसवाललाई १० हजारको चेक प्रदान गर्नुभयो ।
डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टी निवासी उदयराजको एक महिना अघि स्वास्थ्यमा समस्या देखिएको थियो । उहाँको स्वास्थ्य अवस्था बिग्रदैं गएपछि भारतको लखनउमा उहाँको उपचार भैरहेको छ ।
३२ वर्षीय उदयराज नेपाल प्रेस युनियनको साधारण सदस्य हुनुहुन्छ । बाल क्लब हुँदै पत्रकारितामा सक्रिय भएर उहाँले काम गरिरहनुभएको छ ।
आर्थिक अवस्था कमजोर भएको जैसवाललाई थोरै भएपनि राहत मिलोस भनेर आर्थिक सहयोग गरिएको नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बताउनुभयो ।
‘युनियनले पत्रकारलाई समस्या परेका बेला आर्थिक सहयोग गर्ने भन्ने उद्देश्यले पत्रकार कल्याकारी कोष स्थापना गरेको छ । कोषमा धेरै रकम छैन ।, उहाँले भन्नुभयो, तर पनि हामीले समस्यामा परेका पत्रकार साथीहरुलाई सहयोग गर्ने कार्यको शुरुआत गरेका छौं । आगामी दिनमा यसलाई थप सशक्त बनाएर लैजाने योजना छ ।’
अध्यक्ष ओली, नेपाल प्रेस युनियन बाँके सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, सदस्यद्धय कमल खत्री र दिपक राईले उदयराजको परिवारलाई भेटेर थप आर्थिक सहयोग गर्ने बारेमा कुराकानी गर्नुभएको छ ।
उदयराजकी पत्नी रानी जैसवालले सहयोग गरेकोमा नेपाल प्रेस युनियन परिवारलाई धन्यवाद दिनुभयो । उपचार गर्न आर्थिक रुपमा महँगो भएका कारण जग्गा बेचेर श्रीमानको उपचार गरिरहेको उहाँले बताउनुभयो । हालसम्म उपचारमा करिब १२ लाख रकम खर्च भैसकेको रानीले बताउनुभयो ।
उदयराजको परिवारमा श्रीमती सहित तीन छोरी, एक छोरा र आमा हुनुहुन्छ । बृद्ध अवस्थामा रहनुभएकी आमा पनि प्यारालाईसिसका कारण विगत चार वर्ष देखी थला पर्नुभएको छ ।
उदयराजको उपचारमा उनी निकट साथीहरुले पनि सहयोग गर्दै आएका छन् । पत्रकार भिष्म लोधको नेतृत्वमा बाल क्लबमा आवद्ध भएर काम गरेका साथी र डुडुवा गाउँपालिकाका कर्मचारीहरुले पहिलो पटक ५४ हजार ८ सय र दोस्रो पटक १४ हजार रुपैयाँ सहयोग गरेका छन् ।
जैसवाल परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सबैलाई आर्थिक सहयोग गर्न उहाँको परिवारले अपिल गरेको छ ।





