
बुटवल । मृत्यु भएको व्यक्तिलाई जीवित बनाएकोु भन्दै भ्रम फैलाएको आरोपमा बुटवलको एक चर्चका पास्टर पक्राउ परेका छन् ।
सोमबार बिहान बुटवल उपमहानगरपालिका-११ बुद्धनगरबाट पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । आइतबार सामाजिक सञ्जालमा एक जना मृतकलाई जीवित बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो ।
उहाँले सो भिडिओ भने अहिलेको नभएको बताएका छन् । ‘पुरानो हो भनेका छन् । यो यहाँको पनि होइन लमजुङ हो कि लुम्बिनीको हो भनेर भनेका छन्,’ प्रहरी नायब उपरीक्षक केसीले भन्नुभयो ।
उनीमाथि के-कस्तो मुद्दामा अनुसन्धान गर्ने बुझ्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा लगिएको छ । त्यहाँबाट आदेश भएअनुसारकै मुद्दा चलाइने उहाँले बताउनुभयो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताउनुभएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ ।
विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ ।
भिडिओमा पास्टर भनिएका राजेन्द्र गोतामेले प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएकोु भन्दै यशुलाई धन्यवाद दिनु भनेका छन् । गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत केही भन्दै गरेको भिडिओमा देखिन्छ ।
भिडिओमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर विभिन्न अस्पताल लगेर लाखौं रुपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएकोु भन्न लगाइएको छ ।
सासू भनिएकी ती वृद्धाले बोल्दै गर्दा पास्टर राजेन्द्र गोतामेले एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदा समेत निको नभएको तर ५र६ लाख खर्च भएको आफूले सुनेको भन्न लगाएका छन् । साभार : सेतोपाटी





