चितुवाको मुखबाट छोरा बचाउने बहादुर आमा !

चितवन । भदौ ८ गते साँझ ६ बजेको समय । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारकी २६ बर्षकी लक्ष्मी परियार दिनभरको काम सकेर खाना पकाउने सुरसार गर्दै थिइन् । भान्सामा आलु काट्दै गरेकी लक्ष्मीकै वरपर ३ बर्षको छोरा सुलभ खेलिरहेका थिए ।

कतिबेला सुलभ घर बाहिर निस्किए आमाले ख्याल गरिनन् । बाहिर निस्किएका सुभललाई एक्कासी चितुवाले घाँटीमा समाउँदै घिसार्दै लगेको देखिन्, लक्ष्मीले । त्यसपछि लक्ष्मीले एउटा बलियो दाउरो बोकेर छोरा घिसार्दै लगेको चितुवाको पछिपछि गइन् । दाउराले चितुवाको पुच्छरमै हाने पनि छोरा छाडेन । जंगलतिर घिसार्दै लग्यो ।

चिच्याउँदै कराउँदै रुदै उनले गुहार मागिन् । अरू गाउँलेहरु पनि के भयो के भयो भन्दै आए । गाउँलेहरु सबै ढुंगा मुढा गर्दै सालघारीको जंगलभित्र पसे । लक्ष्मीले चितुवा छोरा लगेको दिशा छाड्दै छाडिनन् । पछि चितुवाले सुभललाई भीरमा छाडेर गयो ।

चितुवाले समाउँदा सुलभको घाँटीमा गहिरो दुईवटा प्वाल र कानको तल्लो भागमा गहिरो घाउ लागेको थियो । हत्तपत्त सबै मिलेर उद्धार गरी उनलाई डुम्रेको मोती मेडिकल हल लगे । त्यहाँ त्यहाँका स्वास्थ्यकर्मीले आफूहरुले उपचार गर्न नसक्ने भन्दै तत्काल चितवन मेडिकल कलेज लैजान भने ।

छोरासँगै रहेकी आमा लक्ष्मीले भन्नुभयो, ‘त्यसदिनको घटना सम्झदा अहिले पनि सपना जस्तो लाग्छ, छोरा बाँच्छ जस्तो लागेको थिएन, अहिले क्रमशः सुधार हुँदै गएको छ ।’ त्यसै दिन मुग्लिन नारायणगढ सडकखण्डको केराबारी भन्ने ठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध थियो । संयोगवश केहीबेरमा सडक खुल्यो र सुभललाई उपचारका लागि भरतपुर ल्याइएको थियो ।

चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएका सुलभको भदौ ९ गते घाँटीको शल्यक्रिया गरिएको छ । अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार बालकको घाँटीमा धेरै ठाउँमा गम्भीर चोट लागेको थियो । घाँटीमा गहिरो चोट भएपनि श्वास नली र रगत बहने मुख्य नशामा क्षति हुन नपाएको उहाँले बताउनुभयो ।

‘श्वास नली र घाँटी हुँदै रगत बग्ने मुख्य नसामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको छ ।’ डा.लम्सालले भन्नुभयो, ‘चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुख जस्ता महत्वपूर्ण अंग क्षति हुनबाट जोगिएको रहेछ ।’

अस्पतालका चिकित्सकहरु डा.सुरेशराज शर्मा, डा.नविनकृष्ण यादव, डा.सुमित अधिकारीको टोलीले बालकको शल्यक्रिया गर्नुभएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रताप देवकोटा गम्भीर अवस्थामा अस्पताल ल्याइएको बच्चाको स्वास्थ्यमा अहिले सुधार भएको बताउनुभयो । बालकलाई चितवन मेडिकल कलेजको पीआईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनको अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । छोरासँगै रहेकी आमा लक्ष्मीले भन्नुभयो, ‘त्यसदिनको घटना सम्झदा अहिले पनि सपना जस्तो लाग्छ, छोरा बाँच्छ जस्तो लागेको थिएन, अहिले क्रमशः सुधार हुँदै गएको छ ।’

चिकित्सकका अनुसार सुलभको देब्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाईएको छ ।

Previous articleबाँकेको बालापुरमा डिप ट्युवेलको उद्घाटन
Next articleभाद्र १८ गते हनुमत गौशालामा सुन्दर काण्ड र भण्डारा आयोजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here