
एजेन्सी । भारतले पहिलो पटक आफैंले एयरक्राफ्ट क्यारियर (विमानवाहक पोत) बनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइएनएस विक्रान्त नाम दिइएको उक्त एयरक्राफ्ट क्यारियर शुक्रबार केरलाको कोची सहरमा आयोजित एक कार्यक्रमबीच भारतीय नौसैनिकलाई हस्तान्तरण गर्नुभएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार भारतले आफैं बनाएको विक्रान्त २६२ मिटर लामो छ भने यसको चौडाइ ६२ मिटर छ। यसको उचाइ ५९ मिटर छ । यसमा ३० वटा जहाज र हेलिकप्टर र १६ सय जना क्रु मेम्बर रहन सक्छन् ।
यसभित्र १६ शैयाको अस्पताल पनि छ भने २५० ट्यांकर इन्धन भण्डारण गर्न सकिन्छ । यसमा २ हजार ४ सय डिब्बा छन् । २० हजार करोड भारू खर्च भएको विक्रान्त बनाउन १० वर्ष समय लागेको थियो ।
भारतीय नौसेनाको युद्धपोत डिजाएन ब्युरोले डिजाइन तयार पारेको यो एयरक्राफ्ट क्यारियर कोची सिपयार्डले बनाएको हो ।
कोचीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विक्रान्त स्वदेशी सामर्थ्य, स्वदेशी स्रोत र स्वदेशी कौशलको प्रतीक भएको बताउनुभयो ।
‘आज भारत विश्वका ती देशमा सामिल भयो जसले स्वदेशी प्रविधिबाट यति विशाल एयरक्राफ्ट क्यारियर बनाउन सक्छन्,’ मोदीले भन्नुभयो, ‘आज आइएनएस विक्रान्तले देशलाई एक नयाँ विश्वासले भरिदिएको छ । देशमा एक नयाँ भरोसा पैदा गरिदिएको छ ।’
अहिलेसम्म अमेरिका, बेलायत, चीन, रूस र फ्रान्सले मात्रै आफैं यस्ता एयरक्राफ्ट क्यारियर बनाउन सक्थे । आजै भारतीय नौसैनिकको नयाँ झन्डा पनि प्रयोगमा ल्याइएको छ ।
यसअघि भारतीय नौसेनाले ब्रिटिस उपनिवेशकालको झन्डा प्रयोग गर्दै आएको थियो । ‘आज भारतले गुलामीको एक निशाना, गुलामीको एक बोझ आफ्नो छातीबाट हटाइदिएको छ ।
आज भारतीय नौसेनालाई एक नयाँ झन्डा मिलेको छ,’ मोदीले भन्नुभयो । उहाँले भारतीय नौ सैनिकका विभिन्न शाखाहरूमा अब महिला भर्ती पनि खुला गरिने घोषणा गर्नुभयो ।





