तपाईंको मोबाइल वैध हो कि अवैध ?

काठमाडौं । लामो समयदेखि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को अन्ततः सफ्ट लञ्च भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक कार्यक्रम गर्दै यो प्रणालीको सुरूआत घोषणा गरेको हो ।

यो प्रणाली लागू भएसँगै अब अवैध रूपमा आयात भएका मोबाइलहरू प्राधिकरणले ब्लक गर्नेछ । प्राधिकरणले मोबाइल आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न एमडिएमएस प्रणाली लागू गरेको हो ।

प्राधिकरणका अनुसार आज (भदौ ३० २०७९) सम्म जुनसुकै तरिकाले भित्रिएका सबै फोनलाई ‘ह्वाइट लिस्ट’ मा राखिएको छ । अर्थात् ती मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भइसकेका छन् । यिनलाई फेरि लगेर दर्ता गरिराख्नु पर्दैन ।

तर भोलिदेखि भन्सार छलेर, गैरकानुनी वा अवैध रूपमा भित्र्याइएका मोबाइल ब्लक गरिनेछ । ब्लक गर्नुअघि प्राधिकरणले त्यस्ता मोबाइललाई दर्ता गर्न १५ दिन समय दिएको छ ।

दर्ताका लागि सूचना पनि पठाउँछ । तोकिएको समयभित्र फोन एमडिएमएसमा रजिस्टर नगरे स्वतः ब्लक गरिने व्यवस्था मिलाइएको छ ।

एमडिएमएस प्रणालीबारे हामीलाई थप जानकारी मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले दिएका छन् ।

वैध र अवैध तरिकाले भित्रिएको फोन भनेको कस्तो हो ? सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनहरू जुन सरकारी मान्यता प्राप्त वितरकहरूले बजार पुर्‍याउँछन्, ती वैध हुन् । यसलाई कानुनी रूपमा भित्र्याइएको समेत भन्न मिल्छ ।

वैध रूपमा भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा रजिस्टर गरिएको हुन्छ । रजिस्टर गरिएको फोन हराएमा प्रहरीहरूलाई फोन ट्र्याक गर्न पनि सहज हुन्छ ।

गैरकानुनी रूपमा भित्र्याएका फोनहरू अवैध हुन् । यस्ता मोबाइलको आइएमइआई नम्बर प्राधिकरणमा रजिस्टर हुँदैन । चोरीपैठारी गरी, लुकाएर, भन्सार छलेर ल्याइएका फोनलाई अवैध भन्न सकिन्छ ।

आइएमइआई नम्बर भनेको के हो ? यो कसरी पत्ता लगाउने ?

सिम प्रयोग हुने हरेक उपकरणमा १५ अंकको आइएमइआई नम्बर हुन्छ । यो नम्बर एकअर्कासँग मिल्दैन । मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ ।

वैध रूपमा भित्रिएका सबै फोन बजार पुग्नुअगावै तिनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता भएको हुन्छ ।

हाल प्रयोगमा आएका मोबाइल एमडिएमएसमा दर्ता छ कि छैन भन्ने कसरी थाहा पाउने ?

प्राधिकरणले हाल नेपालभर प्रयोगमा आएका र भित्रिएका सबै फोनहरूलाई ह्वाइटलिस्टमा राखेको छ । यसको अर्थ यी सबै वैध भए। तपाईंको फोन रजिस्टर भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ ।

नयाँ फोन किन्नुअघि उक्त फोन एमडिएमएसमा रजिस्टर भएको वा नभएको कसरी पत्ता लगाउने ?

यसको लागि पनि एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ । किन्न लागेको फोनको आइएमइआई नम्बर राखेर जाँच गर्न सकिन्छ ।

मोबाइल फोनको बट्टामा एमपिआइए (मोबाइल फोन इम्पोर्ट्स एसोसिएसन) को स्टिकर हुन्छ जसमा बाहिरै आइएमइआई नम्बर हुन्छ । नभएको खण्डमा थप सचेत भई आइएमइआई नम्बर जाँचेर गरेर मात्रै किन्नुहोस् ।

कतिपय मानिसले विदेशमा आफूले चलाइरहेको फोन नेपाल फर्किँदा सँगै ल्याउँछन् । विदेशबाट नयै फोन पनि ल्याइन्छ । यसरी भित्रिएका फोन चाहिँ के हुन् ?

विदेशबाट नेपाल फर्केका वा आउने व्यक्तिले चलाइरहेको फोन नेपालमा चल्नेरनचल्ने वा त्यसलाई कसरी रजिस्टर गर्ने भन्नेबारे प्राधिकरण र अर्थ मन्त्रालयबीच समन्वय गर्ने कुरा छ । त्यसरी व्यक्तिगत प्रयोग गरिरहेको फोन नेपाल आएर प्रयोग गर्न नपाउने भन्ने हुँदैन । वा बाहिरबाट मोबाइल उपहार नै पठाउन पाइँदैन भन्ने नियम पनि लागू गर्न मिल्दैन ।

त्यसैले यस विषयमा सेवाग्राहीहरूलाई कसरी मोबाइल रजिस्टर गर्ने भन्ने विषयमा छिट्टै जानकारी गराइने छ ।

एमडिएमएस लागू भए के हुन्छ ?

एमडिएमएस लागू भएसँगै राज्य, व्यवसायी र समग्र सबैलाई फाइदा गर्छ । पहिलो कुरा भनेको एमडिएमएसमा दर्ता भएका फोनहरू ट्र्याक गर्न सजिलो हुन्छ । तपाईंको फोन हराएमा वा चोरी भएमा फोन ट्र्याक गर्न सकिन्छ ।

साथै त्यसलाई केही समयका लागि निष्क्रिय समेत गर्न मिल्छ । यसो हुँदा प्रहरीहरूलाई हराएको फोन भेट्टाउन मद्दत मिल्छ ।

अर्को भनेको राज्यमा भन्सार छल गरी ल्याइने प्रवृत्ति वा कार्य नियन्त्रण हुन्छ । भन्सार तिरेर मात्रै मोबाइल भित्र्याउने भनेपछि भन्सार महसुल बढ्छ ।

यसले गर्दा सरकारको राजस्व वृद्धिमा मद्दत पुग्नेछ । हाल मोबाइल आयातकर्ताले १३ प्रतिशत भ्याट र ५ प्रतिशत अन्तः शुल्क बुझाउनुपर्ने हुन्छ ।

सन् २०२१ मा करिब ५५ अर्ब बराबरको मोबाइल सेट आयात भएको छ । तीमध्ये ३८ अर्ब बराबरको मोबाइल वैध रूपमा आयात भएका छन् भने १७ अर्ब बरबारको मोबाइल अवैध रूपमा भित्रिएका छन् । यस्तोमा अवैध रूपमा मोबाइल भित्रने संख्या नियन्त्रण हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

Previous articleमतदान प्रक्रिया सहज बनाउन नेत्रहीन यूवाको माग
Next articleराष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बाँकेका ४२ विद्यालय छनोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here