मतदान प्रक्रिया सहज बनाउन नेत्रहीन यूवाको माग

नेपालगञ्ज । नेत्रहीन यूवाहरुले मतदान प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको पहुँच स्थापित गर्न ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन प्रक्रियामा अपांगता भएकाहरुको सार्थक सहभागितालाई सुनिश्चित गर्नुपर्ने भन्दै नेत्रहीन यूवा संघ नेपालले देश व्यापी दवाव बढाएको हो ।

संघ, अपांगता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, स्वरोजगार, राजनीतिक सहभागीता, पहँचयुक्त निर्वाचन प्रणालीको विकासलगायतका क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको अधिकारमुखी गैरसरकारी संस्था हो ।

सरकारले ०७९ मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने तयारी गरिसकेको छ ।

निर्वाचनमा अपांगता भएका नागरिकहरुको प्रतिनिधित्व र सहभागीता अझै पनि सन्तोषजनक नरहेको भन्दै अपांगता भएकाहरुको राजनीतिक अधिकारलाई कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराइएको हो ।

नेत्रहीन यूवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्र बुधबार निर्वाचन कार्यालय बाँकेमा पनि बुझाइएको छ ।

आगामी निर्वाचन प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको सहभागितामा वृद्धि गर्न १५ वुँदे माग सम्वोधन गरिदिनहुन अनुरोध गरिएको छ ।

संघका फिल्ड कोअर्डीनेटर श्याम वहादुर थारुको नेतृत्व तथा राष्ट्रिय अपाङ महासंघका संघीय सचिव भावुक जंग थापाको उपस्थितीमा नर वहादुर विष्ट, नरेश थारु लगायतको टोलीले निर्वाचन कार्यालय प्रमुख रमा पन्तलाई भेट गरेर सवाल सम्वोधनको माग गरेको हो ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचिमा उमेदवारको नाम दलहरुले सूचीकृत गर्दा अनिर्वाय अपाङ्गता भएका व्यक्तिहरु प्रतिनिधित्व हुने सुनिश्चित गरियोस, मतदान केन्द्रमा व्हिलचियर प्रयोगकर्तालाई सजिलैसँग मतदान गर्न व्हिलचियर गुडाउन पर्याप्त ठाउँ बनाईनु पर्ने, मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरु प्रष्टरुपमा देखिन मत पत्रको रङ्गहुनु पर्ने र म्याग्निफाईङ्ग ग्लासको व्यवस्था हुनुपर्ने ।

दृष्टिविहीन व्यक्तिहरुका लागि छामेर मतपेटीकामा मतपत्र खसाल्नका लागि मतपेटीमा ट्याक्टाईल स्टिकर टाँस्नुपर्ने र व्रेललिपी र ठूलो छापामा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने, मतदान गराउने कार्यमा खटिने कर्मचारीका लागि अपांगता भएका मतदातासँग गर्नुपर्ने व्यवहारबारे तालिमको व्यवस्था अनिवार्य गराईनुपर्ने, मतदानको दिन अपांगता भएका व्यक्तिहरुलाई मतदान केन्द्र सम्म पुर्याउन निर्वाचन आयोगले घरबाट मतदान केन्द्र र मतदान केन्द्रबाट घर सम्म ल्याउने र पुर्याउने व्यवस्था गर्नुपर्ने, निर्वाचन आयोगले सबै निर्वाचन साझेदारलगायत नागरिक समाज, अपांगता भएका व्यक्तिहरु सम्बद्ध संघसंस्थाहरु, अपांगता अधिकारकर्मीहरु, सुरक्षाकर्मीहरुलाई जनचेतना अभिवृद्धि, र सहकार्यका माध्यमबाट अभिमुखीकरण गर्नुपर्ने, सञ्चार माध्यमलाई पहुँचयुक्त तरिकाले सुचना प्रसार गर्न प्रशिक्षित गर्नुपर्ने, अपांगता भएका व्यक्रिलाई इच्छाइएको स्थानबाट मतदान गर्ने व्यवस्था मिलाइनु पर्ने, निर्वाचन कार्यालयका वेभसाइटहरु पहुँचयुक्त हुनु पर्ने लगायतका माग समावेश गरिएका छन् ।

निर्वाचन कार्यालय प्रमुख रमा पन्तले मतदानकेन्द्र पुरानो संरचनामा भएपनि अपांगमैत्री स्थल बनाउन हर सम्भव प्रयास गरिने विश्वास दिलाउनु भएको अपाङ महासंघका संघीय सचिव भावुक जंग थापाले जानकारी दिनुभयो ।

Previous articleदुई दशकपछि महेन्द्र पुस्तकालयको नयाँ नेतृत्व चयन
Next articleतपाईंको मोबाइल वैध हो कि अवैध ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here