
काेहलपुर । बाँकेकाे काेहलपुर प्रहरीले ठुलाे मात्रामा ब्राउन सुगरसहित तीन जना काराेबारीलाई पक्राउ गरेकाे छ ।
प्रहरीले पाएकाे सूचनाका आधारमा घरमै पुगेर काेहलपुर नगरपालिका वडा न-१२ चप्परगाैडीका श्रीमान-श्रीमतीसहित तीन जना काराेबारीलाई पक्राउ गरेकाे हाे ।
आफ्नै घरमा ब्राउन सुगरकाे काराेबार गर्ने तीन जनालाई ठुलाे मात्राकाे ब्राउन सुगर र लाखौं रकमसहित पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख ऎन बहादुर मल्लले पुष्टि गर्नुभयाे ।
“असाेज १ गते बिहान १०:०० बजेको समयमा हाम्रो प्रहरी टाेली सूचना पाएर कोहलपुर १२ चप्परगौडी स्थित एक घरमा चेकजाँच गरेकाे थियाे ।,” प्रहरी प्रमुख मल्लले भन्नुभयाे, “त्यहाँबाट हामीले एक महिलासहित तीन जनालाई पक्राउ गर्याैं ।”
प्रहरीले घरमुली ३८ वर्षीय यसोदा कार्की, निजका श्रीमान रुद्र बहादुर कार्की र साेही ठाउँका २४ वर्षीय मनोज गिरीलाई पक्राउ गरेकाे हाे ।
उनीहरूबाट २६ ग्राम ४०० मिलिग्राम लागुऔषध ब्राउन सुगर, BOLT POCKET SCALE लेखिएको डिजिटल तौल मेसिन एक थान र नगद नेपाली तथा भारतिय रुपैया गरी जम्मा पाँच लाख तिरहत्तर हजार आठ सय दश बरामद भएकाे छ ।
उनीहरूसंग थप व्यक्ति संलग्न हुन सक्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।





