कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको समिक्षा

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको समिक्षा बैठक बुधवार नेपालगंजमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको साझेदारीमा नरैनापुर र जानकी गाउँपालिकामा उक्त कार्यक्रम संचालन भैरहेको छ ।

कार्यक्रमको मुख्य उद्देश्य कोभिड-१९ बिरुद्घको खोप समतामुलक रुपमा सबैको पहुँचमा हुने गरी गुणस्तरीय, सुरक्षित र सर्वसुलभ रुपमा प्रदान गर्न र कोभिड–१९ का कारण उत्पन्न हुनसक्ने मनोसामाजिक र मानसिक स्वास्थ्य समस्यालाई कम गर्न रेडक्रस स्वयंसेवक परिचालन गर्ने रहेको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले रेडक्रस स्वयंसेवक परिचालनबाट खोप लगाउनेको संख्यामा बृद्धि भएको र आगामी दिनमा पनि रेडक्रसको सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्दै दशै पछि कोभिड-१९ विरुद्धको खोप अभियान संचालन हुने जानकारी दिनु भयो ।समिक्षा कार्यक्रममा परियोजनाद्वारा सम्पन्न भएका गतिविधि र आगामी डिसेम्बर २०२२ सम्म संचालन हुने कार्यक्रम, खोप कभरेज, स्वयंसेवक परिचालन, रेडक्रसका लागि समुदायको सल्लाह, सुझाव र गुनासो संकलन गर्ने फारामको बारेमा जानकारी तथा डेंगु नियन्त्रण एवं रोकथाम लगायत सान्दर्भिक विषयमा छलफल भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठ, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेरेसो जानकी उपशाखाका सभापति एवं जि.का.स.उपकोषाध्यक्ष दुखीराम लोनिया, नि।कायालय प्रमुख निरञ्जना मल्ल, गंगापुर उपशाखाका सचिव शालिकराम साहु लगायत सरोकारवाला निकायका प्रतिनिधि र फिल्डमा परिचालन भएका स्वयंसेवकहरुको सहभागिता रहेको थियो भने समिक्षा बैठकको सहजीकरण कार्यक्रम फोकल पर्सन प्रहलाद विश्वकर्माले गर्नु भएको थियो ।

Previous articleखेलकुद मन्त्री अथकले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई
Next articleमहेन्द्र पुस्तकालयमा पाँच पदेन सदस्य मनोनित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here