
गुलरिया । मानब बेचबिखन तथा ओसारपसारको संभावित जोखिम न्युनिकरणका लागि किशोरीहरुलाई सचेत बनाइएको छ ।
गुलरीया नगरपालिकाको समन्वमा माइती नेपालले एक दिने अभिुमखिकरणमार्फत बिहीबार गुलरियाका किशोरीहरुलाई सचेत बनाइएको हो ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका उपप्रमुख साबित्रा गौतमले मानव बेचबिखन तथा ओसारपसार सामाजिक अपराध भएको बताउनुभयो । उहाँले यो अपराध मानवीय सम्बेदनासंग जोडिएकाले बेचबिखन तथा ओसारपसार बिरुद्ध सबैजना एकजुट हुनुपर्ने बताउनुभयो ।
साथै उहाँले समुदायस्तरमा जनचेतनामूलक अभियान संचालन गर्ने र जोखिमपुर्ण अवस्थामा रहेका महिला, बालबालिका तथा किशोरीहरुलाई कार्यक्रममा बढिभन्दा बढि सहभागि गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागि किशोरीहरुले यो अभिमुखिकरणबाट कसरी सचेत कुराको जानकारी प्राप्त भएको भन्दै आफुहरुले बुझेका कुराहरु साथी, घरपरिवार र समाजमा अरुलाई समेत बताउने बताएका थिए ।
कार्यक्रममा माइती नेपालले गर्दै आएको काम तथा मानब बेचबिखनको बर्तमान अवस्था, बेचबिखनका कारणहरु, दलालले अपनाउने तौर तरिका, बेचबिखनका प्रयोजन र कानुनी ब्यवस्थाको बारेमा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले सहजिकरण गर्नुभएको थियो ।
अभिमुखिकरणमा मानव बेचबिखनसंग सम्बन्धित भिडियो समेत देखाइएको थियो । गुलरिया नगरपालिकाको १२ वटै वडाबाट २५ जना किशोरीहरुको सहभागिता रहेको थियो ।





