
सिधनिया । मंगलबार देखि लगातार भइरहेको अविरल वर्षाका कारण राप्ती नदीको निरन्तर बहाव बढदै गइरहेको छ । राप्तीले हिजो राती नै खतराको सतह पार गरिसकेको थियो । त्यस पश्चात पनि वर्षा कायमै छ ।
यसै क्रममा बाँकेको क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य राजकुमार रौनियारले दुई दिन देखि भइरहेको निरन्तर वर्षाका कारण प्रभावित क्षेत्रहरूको अवलोकन गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवार खनालले राप्ती नदीको सतह बढ्दै गर्दा यस क्षेत्रका स्थानीय बासीहरूको घरघरमा पुगेर बाढीले पुर्याएको असरका बारेमा जानकारी लिने तथा यस विषयमा गम्भीर हुन स्थानीय प्रशासनलाई आग्रह समेत गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवार खनालले राप्ती नदीको बहावको प्रभावले छेउछाउका गाँउमा, पुल, कम्दी, जब्धवा, जमुनाहा लगायतका क्षेत्रमा पुग्नुभएको हो । खनालले बाढीग्रस्त क्षेत्रको बिषयमा प्रशासन संबेदनसिल हुन तथा यहाँका स्थानीयहरूलाई समेत सतर्क रहन आग्रह गर्नुभयो ।
“मुर्ती विसर्जनमा कोही कसैलाई समस्या परेको छ भने हामीलाई सम्पर्क गर्न सक्छ, ” खनालले भन्नुभयो, “यो खुशियालीको पर्व हो । खुसीका साथ मनाउनु पर्छ तर यस्तो बेलामा होसियार पनि हुनुपर्छ । राप्ती नदी अहिले आवश्यकता भन्दा धेरै उर्लिएको हुदाँ यसमा ख्याल गर्नुपर्छ र स्थानीय प्रशासन पनि गम्भीर हुनु पर्छ ।”





