
नरैनापुर । मंगलबारदेखि भइरहेको लगातारको वर्षाका कारण बाँकेको नरैनापुरका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।
मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४ को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसेपछि जनजीवन प्रभावित बनेको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।
गाँउपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुरका विभिन्न वडाहरु जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ, यकिन तथ्याँङ्क सकंलन गर्न वडा अध्यक्षसहित आफू टोल, टोलको अनुगमन गरी रहेको छु ।”
वडा नं. ४ का अध्यक्ष मनोज शर्माले भन्नुभयो, घोडदौरीया गाँउमा १० वटा घरमा क्षति पुगेको बताउदै निरन्तर परीरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेकोले सचेत हुन स्थानीयहरुलाई अपिल गरेको बताउनुभयो ।
वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले भने कतिपय घरमा खोलाको पानी पसिसकेको अवस्था रहेको बताउनुभयो । समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तिमा पस्न थालेपछि थप समस्या भएको उहाँले गुनासो गर्नुभयो ।
घरभित्रै पानी पसेपछि स्थानीयहरुले घरमा भएका सामान सार्न थालेका छन् । त्यहाँका स्थानीयले घरबाहिर पाल टाँगेर वस्न बाध्य छन् । घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर वस्नु परेको स्थानिय लियाकत साईले बताउनुभयो ।
यता नरैनापुर गाँउपालिका अध्यक्ष शाहले निरन्तर पानी परीरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगी सकेको जानकरी दिनुभयो ।





