
धनगढी । कैलालीमा प्रहरीमाथि हातपात भएको छ । जिल्लाको जानकी गाउँपालिकास्थित वडा नम्बर ३ मा बुधबार राति ११ बजेतिर प्रहरीमाथि हातपात भएको हो ।
टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत २ जना प्रहरी जवानमाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी जवान जनक ठकुल्ला र एक जना नाम नखुलेका प्रहरी जवानमाथि कुटपिट भएको हो ।
सो क्षेत्रमा रात अबेरसम्म दशैँको रात्रिकालीन सांस्कृतिक कार्यक्रम चलिरहेको जानकारीपछि प्रहरीहरु पुगेका थिए । त्यहाँ पुगेर उक्त कार्यक्रम बन्द गर्न भनेपछि स्थानीय र प्रहरीबीच झडप भएको बताइएको छ ।
जानकी गाउँपालिकाको लायकपुर शिविरमा जिल्ला प्रशासन कार्यालयको अनुमति बिना कार्यक्रम चलिरहेको थियो । यस्तै प्रहरीले जवानमाथि कुटपिटको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
जानकी गाउँपालिकास्थित वडा नम्बर ३ का लक्ष्मण चौधरी, आशाराम चौधरी र राम चौधरीलाई पक्राउ गरिएको हो । उनीहरुलाई समातेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता, स्थानीयले भने कुटपिट नभएको र प्रहरीले निर्दोषलाई समातेर लगेको बताएका छन् । टीकापुरसहित वरपरको क्षेत्र संवेदनशील भएकोले दशैँमा कार्यक्रम गर्दा अनुमति लिनुपर्नेमा नलिइ गरेकोले त्यहाँ प्रहरी खटाइएको थियो ।





