
नेपालगञ्ज । बाँकेको राप्ती नदीमा निरन्तर पानीको लेबल बढ्दो क्रममा रहेको छ । कुसुम मापन केन्द्रका अनुसार राप्तीमा पानीको मात्रा खतराको लेबल भन्दा धेरै बढि सकेको छ ।
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बाँकेका अनुसार राप्तीका तल्लो तटिय क्षेत्रका स्थानहरुका बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरेको छ ।
मापन केन्द्रका अनुसार साँझ साढे आठ बजेको समयमा राप्तीमा पानीको मात्रा ८ दशमलव ७५ मिटर पुगेको छ । पछिल्लो तीन दिनमा अहिलेसम्मकै बढि ८ दशमलव ७९ मिटर पानीको तह पुगिसकेको छ । यो भनेको अहिलसम्मकै बढी हो ।
राप्तीमा पानीको मात्रा ५ मिटर पुग्दा सतर्कता तह मानिन्छ भने ५ दशमलव ४ पुग्दा खतराको तह मानिन्छ । निरन्तरको वर्षाका कारण राप्तीमा पानी बढ्दै गएको हो ।
राप्ती नदी तटीय क्षेत्रमा पर्ने डुडुवा, राप्तीसोनारी र नरैनापुरका बासिन्दालाई तत्काल गाउँ छाडेर अग्लो स्थानमा जान विपद् व्यवस्थापन समितिले शुक्रवार बेलुका आग्रह गरेको छ ।
एक सूचना प्रकाशित गरेर तथा तीन वटै पालिका र विभिन्न सञ्चार माध्यमलाई खबर पठाएर विपद् व्यवस्थापन समितिले तत्काल तटीय क्षेत्रका गाउँबस्ती खाली गर्न आग्रह गरेको हो ।
विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पानीको सतह निरन्तर बढिरहेको बताउनुभयो ।
खतराको साइरन निरन्तर बजाइएको र विभिन्न ठाउँमा रहेका सुरक्षा युनिटलाई गाउँ बस्ती खाली गराएर सुरक्षित स्थानमा लैजान निर्देशन दिइएको उहाँले बताउनुभयो ।
बाढीले होलिया, बेतहनी, चौफेरी, पाँझा, लगायतका दर्जनौँ गाउँ प्रभावित हुन सुरु भएको र अहिलेको बाढी तल पुग्दासम्म अन्य दर्जनौँ गाउँबस्ती पनि चपेटामा पर्ने उहाँको भनाइ छ ।
नरैनापुरमा २ सय घरमा क्षति
नरैनापुर गाउँपालिकामा बाढी र डुबानले दुई सय घर पूर्णरुपमा क्षति भएको छ । ६ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएको गाउँपालिकाको विपत् शाखाले जनाएको छ ।
लगातारको वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पानी पस्दा भएको डुबानले करिब ६ हजार स्थानीय प्रभावित भएको पालिकाका सूचना अधिकारी एवम् विपत् शाखा प्रमुख समेत रहनु भएका लक्ष्मीकान्त मिश्राले बताउनुभयो ।
गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको गाउँपालिकाले जनाएको छ ।





