
बाँके । नेकपा (माओवादी केन्द्र) की युवा नेतृ तथा निवर्तमान सांसद कृष्णा केसी (नमुना) राप्तीसोनारी र नरैनापुरका बाढी प्रभावित क्षेत्रका पुग्नुभएको छ ।
सुरुदेखि बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा खटिनुभएको उहाँ अहिले पनि बाढी प्रभावितकै घरदैलोमा व्यस्त हुनुुहुन्छ । सत्ता गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुन गइरहेको चुनावमा नमुना बाँके क्षेत्र नम्बर १ (क) बाट लुम्बिनी प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।
बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा खटिएको अवस्थामा प्रदेश सभा सदस्य पदको उम्मेदवारको लागि उहाँको टिकट पाउनुभएको हो ।
नमुनाले अहिले बाढी प्रभावितको घरदैलोमा पुगेर उनीहरुको गुनासा तथा पीडाहरु सुनिरहनुभएको छ । उहाँ हरेक दिन बाढी प्रभावितको घर आँगनमा पुगेर सान्त्वना दिने र राहतको लागि पहल गरिरहनुभएको छ । बुधबार र बिहीबार समेत उहाँसहितको टोली राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ का बाढी प्रभावित क्षेत्रमा पुगेको थियो ।
‘सबैभन्दा बढी राप्ती नदीमा आएको बाढीले कुसुमका विभिन्न गाउँहरुमा क्षती गरेको छ’ उहाँले भन्नुभयो, ‘धेरै जनाको घरबार नै बाढीले उजाड बनाइदिएको छ । पूर्ण क्षती भएकालाई घर बनाउनको लागि राहत दिनको लागि संघीय अर्थमन्त्रीसँग कुरा गरेकी छु ।’
राप्ती नदीको बाढीको समस्या हल गर्नको लागि ठूलो लगानीमा बाँध बन्न थालेको उहाँले स्थानीयलाई जानकारी गराउनुभएको छ । छलफलका क्रममा नमुनाले बाढीबाट पीडितलाई क्षणिक राहत दिनुभन्दा प्रभावकारी तटबन्ध गरेर समस्या समाधान गर्नतर्फ आफु केन्द्रित रहेको बताउनुभयो । तत्कालिन राहतका लागि बाढी पीडितका लागि पालिका, प्रदेश र संघ सरकारलाई आग्रह गरिएको नमुनाले बताउनुभयो ।





