
काठमाडौं । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारका एक सदस्यले जानकारी दिए ।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उहाँमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।
रगत परीक्षणको क्रममा उहाँमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।उपचारकै सिलसिलामा आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो ।
वि.सं. १९७७ वैशाख ३० गते जन्मिन्ुभएका उहाँ पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आउनुभएको थियो । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीन पटकसम्म पाउने एक मात्र व्यक्तित्व हुनुहुन्छ ।
उहाँका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।
उहाँको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो ।
जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।
२०७१ सालमा त्रिमूर्ति निकेतनले उहाँलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेको थियो ।
२०७० सालमा उहाँ पद्मश्री साधनाबाट सम्मानित हुनुभएको थियो । नेपाल सरकारले उहाँलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो । उनी राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमा समेत आबद्ध हुनुहुन्थयो ।
किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उहाँकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै गर्दै आएको थियो ।





