
नेपालगञ्ज । गत असोजमा आएको अविरल वर्षाका कारण बाढीले प्रभावित बाँकेका स्थानीयलाई भोलेन्टीयर कोर नेपालले राहत वितरण गरेको छ ।
शुक्रबार समाजसेवी बिन्दु चर्तिमगरको नेतृत्वमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० र २२ मा १६० घरधुरीलाई चामल, दाल, तेल, नुन, साबुन, टुथ ब्रस, पेस्ट, टावेल, सेनेटरी प्याड लगायतका सामग्री वितरण गरिएको हो ।
तिहार नजिकिदैं गएका बेला बाढीबाट प्रभावितलाई राहत वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालि २० नम्बर वडाको राझाँ र २२ नम्बर वडाको किंघरियन टोलका बाढी पिडितलाई दैनिक जीवन चलाउन समस्या परिरहेको खबर थाहा पाएपछि सहयोग गरिएको पुष्प व्यावसायी चर्तीमगरले बताउनुभयो ।
सावर एक्सन हङकङ चाईनाको सहयोगमा भोलेन्टीयर कोर नेपालले बाँके नेपालगञ्ज नगरभित्रका बाढी पिडितलाई सहयोग गरेको हो । भोलेन्टीयर कोर नेपालका अध्यक्ष दिपक चापागाई, भोलेन्टीयर कोर नेपालका स्थानीय प्रतिनिधि बिन्दु चर्तीमगर, चेत बहादुर घर्तीमगरको अगुवाईमा राहत वितरण गरिएको थियो ।
भोलेन्टीयर कोर नेपालले नेपालमा प्राकृतिक विपद् आउने स्थानमा गएर सबैभन्दा पहिला राहत वितरण गर्दै आएको छ । भोलेन्टीयर कोर नेपालका अध्यक्ष चौलागाईका अनुसार बुधबार दार्चुलामा प्राकृतिक विपदबाट प्रभावित २०० घरधुरीलाई जस्ता पाता, ग्यास सिलिन्डर, खाद्यन्न, कृषि औजार, कृषि बिउँविजन वितरण गरिएको थियो ।
यसैगरी उक्त संस्थाले अछाममा पनि १ सय घरधुरीलाई सोलार बत्ति लगायतका राहत सामग्री, कोसिपारीका जनतालाई राहत सामग्री प्रदान गरेको थियो । अध्यक्ष दिपकका अनुसार सन् २०१८ देखि संस्थाले भुकम्पग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा स्वास्थ्य चौकी निर्माण गरि जनतालाई सेवा प्रदान गरिरहेको छ ।
प्राकृतिक प्रकोप कारण समस्या परेका आर्थिक अवस्था कमजोर भएका जनतालाई सहयोग गरिएको समाजसेवी चर्तीमगरले बताउनुभयो । उहाँले भन्नुभयो ,‘राहत वितरणमा सहयोग गर्ने सावर एक्सन र भेलेन्टीयर कोर नेपाल टिमलाई धन्यवाद । आज समस्यामा परेका मानिसलाई भेलेन्टीयर कोर नेपालले मानवीयता देखाएको छ । यसले समस्या परेका जनतालाई थोरै भएपनि राहत पुगेको छ ।’ प्राकृतिक प्रकोपका कारण प्रभावित जनतालाई भेलेन्टीयर कोर नेपाले गरिरहेको सहयोग निकै प्रशंनीय रहेको उहाँले बताउनुभयो ।





