
शिवराज साहु । यसपटक पनि बाँकेका दुई स्थानमा महादीपोत्सव कार्यक्रम हुने भएको छ । अघिल्लो वर्षपनि गरिएको महादीपोत्सव कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको छ । यसपटक कार्यक्रमलाई अझ भब्य बनाउने तयारी गरिएको छ ।
महादीपोत्सव कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक ५ गते शनिबारका दिन नेपालगञ्जस्थित माता बागेश्वरीमा महादीपोत्सव कार्यक्रम आयोजना गरिएको र भोलि अर्थात ६ गते आइतबारका दिन बाँकेको सिधनियास्थित रहेको स्नान घाटमा महादीपोत्सव कार्यक्रम आयोजना गरिएको हो ।
बागेश्वरी मन्दिरमा ११ हजार दीप प्रज्वलन गर्ने आयोजक जय श्री सियाराम युवा क्लबले जनाएको छ । अघिल्लो वर्ष बागेश्वरी मन्दिर प्रांगणमा ११ हजार १ सय ११ दीप प्रज्वलन गरि उत्सव मनाइएको थियो ।
भगवान श्री राम १४ वर्ष वनवासपछि आफ्नो राज्य अयोध्या फर्किएको खुसीयालीमा दीयो बाली भगवान श्री रामको स्वागत गरिएकोले र असत्य माथि सत्यको विजय भएकोले हाम्रो सनातन हिन्दू धर्मका अनुसार प्राचिन कालदेखि चलिआएको परम्परालाई मान्दैं यसलाई अगाडी बढाउने तथा नगरबासीको सुख, शान्ति, समृद्धि तथा प्रगतिको कामना गर्दै यो कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।
साथै महादीपोत्सव कार्यक्रममा नेपालगञ्ज उपमहानगरवासी एवं नगर जनप्रतिनिधिहरुलाई समेत निम्ता गरिएको जय सियाराम युवा क्लबका अध्यक्ष सुशिल साहूले जानकारी दिनुभयो ।
यसैगरी बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं ५ मा रहेको सिधानिया घाट राप्ती पुलमा पाँच हजार एक सय ११ द्वितिय महादीपोत्सव कार्यक्रम आयोजना गरिएको छ ।
गतवर्ष झै यो वर्षपनि डुडुवाको सिधानियाघाटस्थित राप्ती पुलमा एवं गाउँपालिकाको पहिचानको लागि उत्साहमा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको आयोजक बागेश्वरी सञ्चार सेवा प्रालिका प्रबन्धक सन्तोष कुमार गुप्ताले जानकारी दिनभुयो । घाटमा गतवर्ष पनि पाँच हजार एक सय ११ दीप प्रज्वलन गरिएको थियो ।





