
काठमाण्डौ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा तोकिएको जरिबाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० जनाको उम्मेदवारी खारेज भएको छ ।
समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका छ हजार चार सय ५७ उम्मेदवारमध्ये निर्वाचन कानुन र निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिबाना नबुझाउने तीन सय ६९ सहित उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोधमाथि जाँचरबुझ गरी उम्मेदवारको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको हो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक जनाको नाम पनि हटाइएको छ ।
प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यका लागि दलहरूले पेस गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारको सम्बन्धमा जाँचरबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भइ निर्वाचन खर्चको विवरण पेस नगरेको पाइएको र २०७९ कात्तिक ५ गतेभित्र तोकिएको जरिबाना बुझाउने मौका प्रदान भएकोमा त्यस अवधिभित्र समेत जरिबाना नबुझाउने तीन सय ६९ जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यस्तै बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधि सभा सदस्यतर्फ २३ जना र प्रदेश सभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला–पुरुषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधि सभातर्फका छ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेश सभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेस नभएका छ जनाको नाम पनि सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको छ ।






