मिथ्या समाचारबारे सरोकारवालाको चिन्ता

नेपालगन्ज । मिथ्या सूचनाले पत्रकारिताको विश्वसनीयता खस्किँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

पाल्पा विकास केन्द्र तानसेनको आयोजना तथा बाँकेको मेरो खुसी डटकमको संयोजनमा शनिबार नेपालगन्जमा आयोजना गरिएको मिथ्या सूचना रोक्न तथ्य जाँच सम्बन्धी संवाद कार्यक्रममा बाँके, बर्दिया र भारतका पत्रकार तथा सरोकारवालाले मिथ्या सूचनाले सञ्चारमाध्यमको विश्वसनीयता कम गर्ने र पत्रकारितालाई कलंकित गर्ने भन्दै चिन्ता गरेका हुन् ।

समाजमा अपिनियर लिडर मानिएका पत्रकार, शिक्षक, चिकित्सक, नेता वा प्रतिष्ठित व्यक्तिहरुले जानाजान वा अन्जानमा मिथ्या सूचना फैलाउँदा नागरिकले धेरैले विश्वास गर्ने भएकाले त्यस्ता सूचनाले समाजलाई हानी हुने उनीहरुको जोड थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले राजनीतिप्रति वितृष्णा रहे जस्तै पत्रकारिता पेशाप्रति विश्वसनीयता घट्दै गएकाले थोरै व्यवसायिक पत्रकारले पेशालाई मर्यादित बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा नागरिक दैनिकका एशोसियट सम्पादक तिलक पाठकले मिथ्या सूचना, निर्वाचन र लोकतन्त्रका विषयमा प्रशिक्षण दिँदै मिथ्या सूूचनाले सार्वजनिक सुरक्षामा चुनौती हुने, साम्प्रदायिक सहिष्णुता वा सद्भाव बिग्रिने, समाजमा द्वन्द्व बढाउने, लोकतान्त्रिक प्रक्रियालाई नै नकारात्मक असर पर्ने बताउनुभयो ।

उहाँले विश्व र नेपालमा भएका मिथ्या सूचना सम्बन्धी अभ्यासको उदाहरण दिँदै पत्रकारले सत्यको परीक्षण नगरे मिडियाको विश्वसनीयता घट्ने बताउनुभयो । मिथ्या समाचार प्रकाशन प्रसारणबाट जोगिने, गल्ती भएमा सच्चाउने तत्परता र पारदर्शिता अपनाउने र सूचना साक्षरता र तथ्यजाँचमा जोड दिन पत्रकार र मिडियालाई उनले सुझाव दिनुभयो । उहाँले नागरिकलाई सुझाव दिनुभयो, ‘कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस् । प्रकाशित सामग्री मिथ्या हुनसक्छ भनेर सचेत हुनुहोस् ।’

कार्यक्रममा पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, युवराज पाण्डे, अर्जुन ओली, कमल खत्री, रुपनी जीएम, आशिष गुप्ता, निशु जोशी, विजय मल्ल ठकुरी, भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा.संकेत रिसाल, नेपाल वार एशोसियसनका जिल्ला अध्यक्ष जनकबहादुर शाही, सूचना अभियन्ता विश्वजीत तिवारी, सीता बोहोरालगायतले मिडियामा आएका मिथ्या सूचना र तिनले पारेको प्रभावबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेल र कार्यक्रम संयोजक किरण कौशलले सूचनाको तथ्यजाँचका विषयमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिरहेको जानकारी गराउनुभएको थियो ।

Previous articleक्यान्सर पिडित कसेरालाई बर्दियाली कलाकार समाजकाे सहयाेग
Next articleनेकपा एमाले खजुराका पचास बढी युवा कांग्रेसमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here